Loshar2076

Loshar2076
#Tamang culture

बच्चालाई अामा बुबा ले गर्नु पर्ने

समाज आधुनिकीकरणतर्फ उन्मुख छ । यो पुस्ताका बच्चाले धेरै कुराको ‘एक्स्पोजर’ पाइसकेका हुन्छन् । जसकारण बच्चा हुर्काउने पुरानो पद्धति र अहिलेका बच्चाबीच दूरी बढेको छ । बच्चाको पढाइ राम्रो नभएको, बच्चा धेरै डिमान्डिङ भएको, भनेको नमान्ने र मोबाइल चलाउन धेरै ध्यान दिने गरेको गुनासो अभिभावकहरू गर्छन् । 
अहिलेका बालबालिकाको सामना कसरी गर्ने ? अभिभावकले सिक्न जरुरी छ । बच्चाको व्यवहारमा आउने रिस, आवेग र जिद्दीपनालाई कसरी सन्तुलनमा ल्याउने र कसरी उनीहरूलाई सकारात्मक बनाउने ? उनीहरूका लागि कस्तो वातावरण दिने भन्नेबारे पर्याप्त रूपमा बुझ्न जरुरी छ । 
बोलीवचनमा समस्या
मुख्य समस्या नै अभिभावकको बोलीवचनमा छ । बच्चाले केही गर्दा झनक्क रिसाउने र त्यसको प्रतिक्रिया दिँदा कसरी संवाद गर्ने भन्ने कुरा अभिभावकले या त जानेका छैनन् या  जानेर पनि प्रयोगमा ल्याउन सकिरहेका छैनन् । बच्चालाई उत्साहित बनाउन राम्रोसँग संवाद गर्नुपर्छ । उनीहरूले गरेको कामको कदर गर्ने बानी बसाल्नुपर्छ । नकारात्मक प्रतिक्रियाले बालबालिकामा मनोवैज्ञानिक दबाब सिर्जना गर्छ । 
उमेर नपुग्दै विद्यालय
बच्चाको उमेर नपुग्दै विद्यालय हाल्नु अर्को दबाब हो । सानै उमेरमा बाबुआमासँग छुट्नुपर्दाको असर तत्कालै होइन, टिनएजमा देखिन्छ । बच्चा भुलाउन आफ्नो सहजताका लागि अभिभावकले कार्टुन देखाउने, मोबाइल दिनेजस्ता गतिविधि पनि गर्छन् । यसको  असर पनि टिनएजमै गएर देखिन्छ ।  यी कुरा अभिभावकले बुझ्नुपर्छ । बालबालिकालाई ‘मन्टेस्वरी’ पठाउन सकिन्छ । तर, ६ वर्ष नभई विद्यालय सकेसम्म हाल्नुहुँदैन । डेढ–दुई वर्षमा विद्यालय भर्ना गराएर समस्यामा परेका अभिभावक पनि हामीकहाँ आउनुहुन्छ । त्यस्ता बच्चाले सुरु–सुरुमा राम्रो नतिजा ल्याएका हुन्छन् । तर, बिस्तारै पढाइ खस्कँदै जान्छ । यो सबै ‘लर्निङ डिसेबिलिटी’का कारण हुन्छ ।
बच्चालाई उत्साहित बनाउन राम्रोसँग संवाद गर्नुपर्छ । उनीहरूले गरेका कामको कदर गर्ने बानी बसाल्नुपर्छ । 
६ वर्षभित्रै सिकाउनुपर्ने कुरा
बच्चा हुर्काइको महत्वपूर्ण पाटो स्तनपान हो । स्तनपान अनिवार्य रूपमा गराउनुपर्छ । यसको महत्व धेरैले बुझेकै छैनन् । कतिले दूध आएन भनेर छोडिदिन्छन्, तर त्यसो गर्नुहुँदैन । बारम्बार कोसिस गर्ने हो । स्तनपान नगराएका बच्चामा भावनात्मक सम्बन्ध राम्रो हुँदैन । शरीरको बनावट बिग्रने, पीडा हुने, दूध नआउनेजस्ता कारणले कतिले स्तनपान गराउँदैनन्, जुन राम्रो होइन । 
बच्चाले ६ वर्षको उमेरसम्म आफैँ खानेकुरा खाने, लुगा लगाउने, जुत्ता लगाउने, आफ्नो सामान आफैँ मिलाउने, शौच गर्नेजस्ता आधारभूत कुराहरू सिकिसक्नुपर्छ । तर, यहाँ भने आधारभूत कुरामा पनि बच्चालाई अभिभावकसँग निर्भर बनाउने बानी छ । हरेक काममा अभिभावक आफैँ अघि सर्दा बच्चा कमजोर हुन्छन् । 
पर्याप्त समय
बच्चा जन्मिसकेपछि वेला नै नभई विद्यालय भर्ना गर्न हतार गर्नु गलत हो । समय दिन नसक्ने हो भने बच्चा नजन्माउनु नै ठीक हुन्छ । बच्चालाई स्वस्थ बनाउने हो भने अभिभावकले समय दिनैपर्छ । 
यौवन सुरु भएपछि
यौवन अवस्था सुरु भएपछि अभिभावकले बच्चा हुर्काउने तरिका बदल्नुपर्छ । केटी मान्छेमा नौ वर्षको उमेरमा प्युबर्टी सुरु हुन्छ भने केटामा ११ वर्षमा । केटीहरूलाई विशेषगरी आमाले यो समयमा महिनावारीबारे सिकाउनुपर्छ ।
छोराहरूलाई बुबाले सिकाउनुपर्छ । यो उमेरमा हुने हर्मोनल परिवर्तनबारे पहिला नै खुलस्त भएर भन्नुपर्ने हुन्छ । यसले गर्दा बच्चामा आत्मविश्वास बढ्छ । छोराछोरी दुवैलाई गुड टच–ब्याड टचबारे यौवन अवस्था सुरु भएपछि आमाबाबुले घरमै सिकाउने हो । खान–लगाउन दिएर वा भनेको कुरा पूरा गरिदिएर मात्र अभिभावकको कर्तव्य पूरा हुँदैन ।
Previous
Next Post »