हामीले विवाहको लागि त्यही किसिमको तयारी गर्न सक्नुपर्छ, जो हाम्रो आर्थिक हैसियतले भ्याउँछ । अरुलाई देखाउने वा छिमेकीसँग देखासेखी गर्ने चक्करमा लागियो भने हामी ऋणमा डुब्न सक्छौं ।
कतिसम्म भने, हामी आफुले कुनै पहिरन लगाइरहँदा पनि सोच्छौं कि अरुले देखेर के भन्लान् ? उक्त पहिरनले आफुलाई कति सहज लागेको छ ? कति सुहाउँदो लागेको छ ? सोच्दैनौं । केवल सोच्छौं, यस्तो लुगा लगाएको देखेर अरुले के सोच्छन् ?
कुनै सानोतिनो उद्यम वा व्यापार गर्न मन लाग्यो । ठेलामा मम बेचेर पनि काइदा कमाई हुन्छ । साँझ वा बिहान एकाध घण्टा ठेलामा मःम बेच्न सकिएला । तर हामी यसकारण डराउँछौं कि, अरुले देखेर के भन्छन् ?
कतिपय व्यक्तिहरु सामान्य घरायसी काम गर्न हच्किन्छन् । कुचो लगाउन लजाउँछन् । लुगाफाटो धुन लजाउँछन् । जुठो भाँडा माझ्न लजाउँछन् । किन ?
किनभने उनीहरु सोच्छन्, ‘अरुले देख्यो भने के होला ?’
यसरी ‘अरुले के सोच्छन् ?’ भन्ने डरले नै हामी धेरै कुरा लुकाउँछौं । गर्नुपर्ने काम गर्दैर्नौं । अरुको सोचाई अनुरुप आफुलाई बदल्ने यत्नमा बुख्याँचा जस्तै बन्न पुग्छौं । न अरुको चित्त बुझाउन सक्छौं, न आफ्नोपन कायम राख्न नै ।
एउटा यसप्रकारको चित्र छ । एक दम्पती खच्चडमा चढेर कतै गइरहेका छन् । बाटोमा रमितेले देख्छन् र टिप्पणी गर्छन्, ‘कस्ता निर्दयीहरु, एउटा निर्धो जनवारमा दुई-दुई जना चढेका छन् ।’
बटुवाको कुरा सुनेपछि खच्चडमा चढेकी श्रीमती ओर्लन्छन् । श्रीमान् चढेको खच्चडलाई डोहोर्याउन थाल्छन् । बाटोमा कसैले देख्छन् र भन्छन्, ‘हेर त, बुढा पनि कस्ता ? आफुचाहिँ आनन्दले खच्चडमा चढेर बुढीलाई हिँडाउने ?’
यस्तो कुरा सुनेपछि श्रीमानले आफ्नी श्रीमतीलाई खच्चडमा चढाउँछन् । र, आफु हिँड्न थाल्छन् । बाटोमा फेरी कसैले उनीहरुमाथि टिप्पणी गर्छन्, ‘कस्ती बुढी ? हेर त बिचरा बुढालाई हिँडाएको ?’
यस्तो सुनेपछि श्रीमती पनि ओर्लन्छन् । उनीहरु दुबै खच्चडलाई डोहोर्याउँदै हिँड्छन् । तर, यति गर्दापनि कहाँ अरुको चित्त बुझ्छ र ?
बाटोमा मान्छेहरु गिज्याउन थाल्छन्, ‘कस्ता मूर्ख बुढाबुढी ? खच्चड हुँदाहुँदै पनि त्यसमा नचढेर डोहोर्याउँदै हिँडिरहेका छन् ।’
अरुले के भन्छन् ? के सोच्छन् भनेर सोही अनुसार गर्न थालियो भने उही दम्पतीको हालत हुन्छ । त्यसैले अरुले के भन्छन्, के सोच्छन् भन्ने कुरा छाड्नुहोस् । तपाईं आफुले के सोच्नुहुन्छ ? मनन गर्नुहोस् । आफ्ना लागि जे सहज, सरल लाग्छ त्यही गर्नुहोस् ।
ConversionConversion EmoticonEmoticon