Loshar2076

Loshar2076
#Tamang culture

त्यो एक दिन! (कथा)

कथा

त्यो एक दिन!
अहो! शिक्षालाई जीवन सापेक्ष तुल्याई सामाजिक वातावरण र लोकतान्त्रिक मूल्य मान्यता अनुरुप समावेशीकरण तर्फ उन्मुख गराउँदै व्यवहारमा सक्षम ,सिर्जनशिल ,स्वावलम्बी एवम् स्वाभिमानी नागरिक निर्माण गर्ने उद्देश्य राखिए तापनी व्यवहारमा के त्यसले सार्थकता पाएको छ? यहि प्रश्न आज पनि मष्तिस्कमा गुन्जायमान भइरहेको छ मेरो।
किताबी ज्ञानको आड लिँदा लिँदै आज मास्टर्स डिग्री सम्मको अध्ययन पूरा गरिसक्दा आफुले आफुलाइ निकै सक्षम र ठुलोठालु अनुभव गर्ने आम युवा वर्ग अझै बेरोजगार किन ?चाप्लुसी, भनसुनले राज गरेको आजको नेपालमा मेहेनतले प्राप्त गरेका ती योग्यताका चारपाटे प्रमाणपत्रहरु औचित्यहिन त भएको होइन?दुख गरि प्राप्त गरेका ती शैक्षिक योग्यताका प्रमाणपत्रहरु पुरानो त्यो काठको कन्तुरमा १० रुपैयाँ पर्ने प्लास्टिकको फाइलमा मिलाएर राखेको म, बेलाबेला निकालेर हेर्छु। साँच्चै के महत्व छ यी कागजपत्रको? त्यो एकदिनले मलाई पनि सोच्न बाध्य बनाएको थियो।
एउटा हातमा पुरानो घर अनि केही मुरी धान फल्ने खेत बन्धकि राखेको कागज अनि अर्को हातमा डिग्रीको सर्टिफिकेट। बन्धकमा राखेको घर खेत फिर्ता लिन त्यही कागजमा लेखिएका कुराहरु मन र मानसपटलमा कोरेर शैक्षिक योग्यताका ती एक ठेली प्रमाणपत्र पुन: त्यही कन्तुरमा राखेर ५० /५५ डिग्रीको चर्को घाममा रगतरुपी पसिना बेच्न खाडी जाने युवावर्गको कमी छैन हाम्रो यो समाजमा । उफ्! त्यही एकदिनमा कानमा ठोक्किएका वाक्यहरु हुन् यी।
कुरो २०७५ साल वैशाख तिरको हो। पात्र अरु कोहि होइन, म लगायत मेरा दुई साथीहरु कुसुम र सम्पदा। शनिबारको त्यो झिसमिसे उज्यालोमा मन्दिर दर्शन गर्न भनी लाग्यौँ। योजना अघिल्लो दिन नै बनेको थियो।योजना बमोजिम तीन साथीहरु सार्वजनिक बस चढी गन्तव्यमा पुग्न भनी अघि बढ्यौँ। केही समयमा नै पशुपतिनाथ पुग्यौँ। दर्शन गरि बाहिर निस्क्यौँ। जमाना सेल्फिस मानिसहरु र सेल्फी कै छ। त्यही सेल्फी फुटामा एकछिन रमायौँ। क्यामरामा पछाडी पट्टी पेटिमा बुढी आमै चिया पकाइरहनुभएको दृष्य समेत कैद हुन भ्याएछ।आहा! चिसो मौसम अनि तातो चियो। चिया बन्दै थियो। अन्दाजी उमेरले ४० नाघेका एक दाजु पनि चियाको लागि अनुरोध गर्दै हुनुहुन्थ्यो।आवाजमा भलाद्मीपन स्पष्ट झल्किरहेको थियो। उहाँको जगल्टा, लामो समय ननुहाएका कारण गन्हाएको त्यो शरीर, चारैतिर टालेको अनि च्यातिएको पाइन्ट र स्विटर, प्वाल परेको टोपीले उहाँको त्यो अनुरोध चिया पसल्नी आमाले सुनेपनी नसुने झैँ गर्नुभयो। म अवाक्क भएँ। मलाइ पनि एक कप चिया ,म सँग पैसा छ भनेर भन्न भ्याउनु भएको  मात्र के थियो।आमाले कुचो समातेर भागिहाल त जगल्टे ,यहाँ तिम्रो गन्धले मेरा चिया खाने ग्राहकहरु भाग्ने भैसके भनेर उग्र हुनुभयो। बिचरा ती दाजु निराश बनेर पशुपतीको छेउमा मैलो चकटी र सानो प्लास्टिकको बाटा बोकेर सदा झै सायद माग्नका लागि बस्नुभयो।
मन कता कता चसक्क भयो। आफू पनि बाल्यकालमा निकै अभाव र पिडामा हुर्किएका कारण सायद ती दाजुको अवस्थाले नरमाइलो लाग्यो। चिया पिउन थाल्यौँ। मेरी एक साथीले ती दाजुको छेउमा गएर डायलग मार्न थाली।के हो दाजु, उ त्यहाँ पधेरो छ नुहाउनु क्या त।  मैले पनि गएर थपेँ," हो त दाजु हट्टा कट्टा नै हुनुहुन्छ। तपाईं भन्दा कति अशक्तहरुले त काम गरेर गुजारा गरिरहेका छन् ।उमेर पनि धेरै भए जस्तो लाग्दैन। चिया पिउन पैसा छ भन्नुहुने तपाइले यसरी माग्न बसेको पटक्कै सुहाएन।" 
हामी  छक्क पर्यौँ जब ती दाजुले मुसुक्क हाँस्नुभएको देखेर।उहाँले भन्नुभयो," बहिनीहरुको कुरा मैले मनन नगरेको होइन। तर भनाइ र गराइमा फरक हुने रै छ। वास्तविक जीवन सोचेभन्दा निकै भिन्न पाएँ।यसरी माग्नु मेरो रहर होइन बाध्यता हो।" पुरानो झोलाबाट त्रिभुवन विश्वविद्यालयबाट मानविकि संकायमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएको ट्रान्स्कृप्ट निकालेर हामीलाई देखाउनुभयो। हामी छाँगा बाट खसे झैँ भयौँ जब चारित्रीक प्रमाणपत्रमा उहाँको फोटो देख्यौँ। म पनि देशको शिक्षित नागरिक मै पर्छु बहिनी र सोचेको थिइनँ कि आज मेरो यस्तो अवस्था हुनेछ। बुढापाकाले सहि नै भन्थे भविष्य कसैले देखेको छैन र मेरो त्यस्तै भयो। मेरी साथी भक्कानिन थालिन् र गहभरी आँसु पारेर अर्को छेउतिर लागिन्।
कथा सुन्न मन लाग्यो। उहाँ बोल्न थाल्नुभयो,"नेपालको निकै दुर्गम जिल्ला जाजरकोट घर हो मेरो। गाउँकै एक सरकारी विद्यालयबाट एस.एल.सी पनि प्रथम श्रेणीमा नै उत्तीर्ण गर्न सफल भएँ। लगत्तै उच्च शिक्षा अध्ययनका लागि काठमाडौ आएँ। बिहान बेलुका किर्तिपुर स्थित एक ट्युसन सेन्टर र काठमाडौ कै केही निजी विद्यालयमा अध्यापन गर्दै एम.ए सम्मको अध्ययन पूरा गरेँ।पटक पटक सरकारी जागिरका लागि कोसिस गर्दा असफल भएका कारण निरास र हतास बनेको थिएँ। बुबा आमाको दबाबमा स्नातकोत्तर अध्ययन कै क्रममा विवाह पनि गरेँ।। देशमा रोजगारीको वातावरण प्राप्त गर्न नसकेको र गाउँमा तिर्न बाँकी ऋणको बोझले बाँकी रहेको केही धुर जमिन बेचेर खाडी मुलुक कतार लागेँ।।परदेशको जीवन, कठिन परिश्रम गरेर बडो मेहेनतले कमाएको पैसा काठमाडौ बस्ने श्रीमती र जाजरकोट बस्ने बुबा आमा र भाइलाइ पठाउँदै आएको थिएँ। ।तर, कामको शिलशिलामा मेसिनले च्यापेर देब्रे हात  र दाहिनेहातको साहिली र चोरी औँला पनि काट्नुपर्यो। छ महिना भन्दा बढी समय अस्पताल बसेर नेपाल फर्किएँ। म  तब झसंग भए जब मेरी श्रीमती अर्को पुरुष साथीसँग बेपत्ता भएकी रहिछिन्। मन भारी बनाउँदै जाजरकोट पुगेँ।तर म प्रती भाइ बुहारीले गर्ने व्यवहार झनै सह्य भएन। आफैले दुख गरि पैसा पठाएर पढाएका र विवाह गराइदिएका भाइले समेत मलाइ बोझ ठानेको अनुभव भयो। अपहेलना सहन नसकी पुन: काठमाडौ आइपुगेँ।कम्प्युटर टाइपिङ्गमा राम्रो दखल  भएपनी जागिरका लागि आवेदन दिएका अफिसहरुले शारीरिक अवस्था हेरेर लिन मानेनन् ।गल्ली गल्ली भौँतारिएँ।पहिले अध्यापन गराएका विद्यालयमा पनि गएँ र पनि सकारात्मक धारणा कसैले नबनाएपछी दिक्क वाक्क र लाचार भएर यसरी माग्नु पर्ने अवस्थामा आउनुपर्यो।।अझ दलित भएकै कारण कोठा पाउन समेत मुस्किल परेको, पाएपनी घरभाडामा बस्ने अन्य मानिसहरुको तुच्छ व्यवहारले पटक पटक म भित्र भित्रै मरेतुल्य  भएको थिएँ बहिनी।" अब भन्नुस् के मैले गलत गरेँ?
म अक्क न बक्क भएँ। के बोल्ने के नबोल्ने सोच्नै सकिनँ। उहाँले भन्नुभयो जमाना साँच्चै बदलिएछ। समाज परिवर्तनको पथमा अघि लम्कँदै गए पनि दलित प्रती हेर्ने दृस्टिकोण कहिल्यै परिवर्तन भएन। किताबमा मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन भनेर पढाएपनी व्यवहारमा त्यो लागू कहिल्यै भएन। भाषण र सभामा ठुल्ठुला कुरा गरेपनी यथार्थमा कहिल्यै भएन। समावेशीकरणको बिगुल फुकिएपनी अपांगता भएकाहरुप्रतिको व्यवहार उस्तै नै रहेछ। भित्री क्षमता भन्दा पनि बाहिरी आवरण , लवाइले प्रभाव पार्ने रहेछ। तपाईंले देखिहाल्नुभयो अघि पैसा तिर्छु भन्दा पनि चिया पिउन पाइन। यो भन्दा बढी पीडा के नै होला र? काम गरेर खानुपर्छ थाहा नभएको होइन। मनन गरेको छु तर यी र यस्ता कुराहरुले मलाइ बेलाबेला नराम्ररी तोड्ने गरेको छ। मागेको पैसा जम्मा गर्दै छु। त्यसैले सानो तिनो व्यापार गर्ने सोचमा छु। हेरौँ के हुन्छ? सरकारी जागिरका लागि उमेरले बाटो बन्द गराइदिहाल्यो।अहिले म ४१ वर्षको भएँ, न परिवार न साथीभाइ। पुर्ण रुपमा एक्लो छु। मन बहलाउन मेरै छेउछाउमा बस्ने अन्य माग्ने साथीहरु छन् ।राजनितीले बिगारेको देश भनेर सुनिन्छ।हो पनि,माग्ने ठाउँमा त राजनीति छ।आज माग्न बसेको ठाउँमा भोलि आउँदा बस्न पाइँदैन।पिटेर लखेट्छ्न्। यस्तै यस्तै छ बहिनी मेरो कथा। सडक मै सुत्छु, सडक मै पकाउँछु,खान्छु।तर पनि आशा अझै मरेको छैन।
यति भनिसक्दा उहाँले निकै आफुलाई हल्का महसुश गर्नुभएको भान भयो।मनको बह सायद निकै लामो समय पछी पोख्नुभएको थियो। मेरा साथीहरु फोटाहरु खिच्न र सामानहरु किन्न व्यस्त थिए। म पुन: चिया पसल्नी आमैको मा आएर दुई कप चिया बनाइदिन आग्रह गरेँ। चिया बोकेर तिनै दाजुको गएँ ।दाजु निकै हर्षित हुनुभयो। मार्मिक कथा सुनाउनुभएकोमा धन्यवाद दिँदै म र मेरा साथीले केही असहज हुने गरि बोलेको भएमा माफ गरिदिन अनुरोध गर्दै  म फर्किएँ। दाजु पुन: आफ्नै दैनिकीमा व्यस्त देखिनुभयो।
म यति बोलक्कड मान्छे त्यो दिन भने  सुनेको सुन्यै भएछु। उहाँको त्यो हौसला र आत्मविश्वास बाट मैले त्यो दिन धेरै कुरा सिकेँ।जुन किताबी ज्ञान भन्दा निकै अमुल्य थियो। साँच्चै शिक्षा जो कोहिबाट पनि प्राप्त गर्न सकिने रहेछ। त्यो एक दिन,अझ भन्नुपर्दा त्यो केही घन्टा मैले जीवनको भोगाई बुझेँ। आजको दिनमा ती दाजु पशुपति आशपास देखिनुहुन्न। सायद आफ्नो लक्ष्यमा पुग्नुभयो कि? र सबैभन्दा ठुलो पाठ यो सिकेँ कि बाहिरी आवरण हेरेर कसैको पनि मुल्यांकन गर्ने गल्ती नगर्नु। यथार्थताको गहिराइमा डुबेर सहि र गलत छुट्याउने कोशिश गर्नु अनि व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्नु। धन्यवाद दाजु तपाइलाई, जहाँ रहनुभएपनी।
Previous
Next Post »