जिन्स पाइन्ट लगाएका जवान महिला सिटमा ‘ढसमस्स’ बसे र छेउमै वृद्धहरू उभिए, यही हो महिला सशक्तीकरण ? हिजोआज सामाजिक सञ्जालमा निकै बढी दोहोरिनेमध्येका वाक्य हो यो । हालसालै यसरी नै कुनै दुई महिलालाई लज्जित गरिएको फोटो पनि भाइरल भएको छ रे, तर हेरेको छैन । किनभने हेरेर थप निरास हुने चाहना छैन । हरेकपटक अचम्मचाहिँ लाग्छ, नेपालका सार्वजनिक बसमा महिलाका लागि बसभरिमा जम्मा दुईवटा आरक्षित सिट हुने हुन् ।
तिनै दुईवटा सिटको मात्र नजिकै किन वृद्धहरू उभिन्छन् ? ल हरेक बसमा भेटिने दुईजना ‘जिन्स पाइन्टधारी महिला’ त क्रूर भइहाले रे, बसभरिका अरू ‘दयालु’हरूले फोटो खिच्नुको साटो अरू सिटमा उनीहरूलाई बस्ने व्यवस्था किन नगरेका होलान् ? अनि एउटै बसमा जैविक रूपमा विशिष्ट दुईथरी नागरिकलाई चारवटा सिटका लागि जुधाउनु र लडाउनुको औचित्य के ? एउटा बसमा दुईजना मात्र महिला र दुईजना मात्र ज्येष्ठ नागरिक त पक्कै चढ्दैनन् । सलाइका बट्टाजत्रा बसमा दुई–दुई सिट छुट्याउनुलाई महिला र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको कसरी भन्नु ? यसलाई त प्राथमिकताका नाममा कनिका छरेर गिज्याएको मात्रै भन्न मिल्छ । यस्तो खालको अपूरो प्राथमिकताको आडमा ‘जिन्स पाइन्ट लगाउने महिला’हरू अपमानित र लान्छित हुनुपर्ने कहिलेसम्म ?
सार्वजनिक बसको यात्रासँग जोडिएका मेरा अनुभव ०७४को असोज यता संख्यामा पनि बढी छन् र तिनको अनुभूतिको गहिराइ पनि बढी छ । त्यसअघि मैले स्कुटर चलाउन लागेको केही वर्ष भइसकेको थियो । लामो दूरीमा बाहेक म सार्वजनिक सवारीमा एकदमै कम यात्रा गर्थें । आरक्षण सिटको महत्व थाहा जरुर थियो, तर आक्कल–झुक्कल गरिने छोटो दूरीको यात्राको अफ्ठ्यारो जसोतसो पार गरेपछि सायद म त्यो बेवास्ता गर्थें । १२ वर्षभन्दा बढी समयदेखि मलाई सियाइटिकाको समस्या छ, शरीरको दाहिने भागमा ।
दुवैपटकको सुत्केरीमा ‘रगत फर्केको’ थियो । ०७४को असोजमा फेरि महिनावारीको समयमा बाहेक असमयमा हुने अत्यधिक रक्तश्राव बेहोरेँ । त्यही वर्षको पुसमा दाहिने घुँडाको लिगामेन्ट च्यात्तियो । त्यही फागुनमा फेरि मेरो असमयको रक्तश्राव दोहोरियो, त्यो पनि १५ दिनको लामो अवधिका लागि (जुन हाइपोथाइरडिज्मको कारण हुन सक्छ भनेर डाक्टरले भने) । लामो समयसम्म स्कुटर चलाउन नपाएपछि कतै जानैपर्ने जरुरी काम भए र घरमा पु-याइदिने मान्छे नभएको अवस्थामा सार्वजनिक यातायात प्रयोग गर्न थालेँ ।
महिनावारीको वेलामा हुने अफ्ठ्यारो वा दुई बच्चा जन्मेपछिका अरू प्रसूतिजन्य अफ्ठ्यारा त यी सबै दीर्घरोगका अगाडि नगन्य भइहाले । त्यसमाथि १० सेकेन्ड रोक्नुपर्दा पनि हाम्रा सार्वजनिक बसका स्टाफ झर्कोफर्को गर्छन् । बस पक्डिनका लागि आलो बिरामी हुँदाको वेलामा पनि सक्नेजति बल लगाएर दौडेको जस्तो गर्थें, आज पनि त्यही गर्छु । ‘जिन्स पाइन्ट लगाएकी हट्टाकट्टा महिला के तालले दौडेको’ भनेजस्तो अनुहार बनाएर सहचालक साह्रै रिसाए भने नजिकै आइपुगेपछि ‘खुट्टा भाँच्चिएको छ के भाइ, त्यही भएर छिटो दौडिन सक्दिनँ’ भन्थेँ, भन्छु । ‘लिगामेन्ट च्यात्तिएको छ र शरीरमा अरू पनि ‘स्त्री तथा प्रसूतिजन्य’ जटिलता पनि छन्’ भनेर लम्बेतान व्याख्या कसरी गर्नु !
धेरैजसो समय ‘जिन्स पाइन्ट’मै हुने म साढे दुई वर्षयता अधिकांश समय एक त सकेजति दौडेर बस समात्छु । अन्दाजी ८० प्रतिशत जति समय त सिट नपाएर उभिन्छु नै, बल्लतल्ल खाली भएका सिट पनि अरूले जस्तो हत्तपत्त झम्टेर कब्जा गरेर बस्न सक्दिनँ । कथंकदाचित छेउमै खाली सिट भेटियो र बल प्रयोग नगरीकनै बस्न पाएँ, तर म चढेको एकछिनपछि ५० नाघेका जस्ता देखिने कुनै महिला वा पुरुष चढे भने त कुनवेला कसले केही प्याच्च भन्छ वा फोटो खिचेर ‘भाइरल’ बनाइदिन्छ भनेर यात्राभरि त्रसित भइरहन्छु । कहिलेकाहीँ त छेउमा उभिएका मभन्दा जेठा मान्छेले पनि कर्के आँखाले हेरेको जस्तो आभास हुन्छ र सिट छोडिदिएर उभिन्छु नै । ‘जिन्स पाइन्ट’ लगाएर वृद्धलाई उभिन पार्ने ‘हट्टाकट्टा आइमाई’का रूपमा त्रसित वा लान्छित हुनुपरेका अनुभव अरू धेरै महिलाका पनि होलान् । मेरा केही यसप्रकार छन् ।
अजब यात्राका गजब याद
छोरो तीन महिनाको थियो, उसलाई भ्याक्सिन दिनका लागि पोखराको भैरव टोलदेखि मणिपाल अस्पतालसम्म लानुपर्ने थियो । छोराको बाउ घरमा नभएको वेला थियो । म तीन महिनाकी सुत्केरी, त्यसमाथि बन्द भएको रक्तश्राव फर्केकाले झन् कमजोर भएर त्यसबाट तंग्रिँदै थिएँ । एकजना बहिनी दिउँसो एक–डेढघन्टा काम सघाउन आउने गर्थिन् । २०–२१ वर्षकी हुँदी हुन् । म पनि ‘अर्ली ट्वेन्टिज’ भनिने २० र २५को बीचमै थिएँ । उनैलाई अस्पतालसम्म साथी गइदिन अनुरोध गरेँ ।
छोरो तीन महिनाको थियो, उसलाई भ्याक्सिन दिनका लागि पोखराको भैरव टोलदेखि मणिपाल अस्पतालसम्म लानुपर्ने थियो । छोराको बाउ घरमा नभएको वेला थियो । म तीन महिनाकी सुत्केरी, त्यसमाथि बन्द भएको रक्तश्राव फर्केकाले झन् कमजोर भएर त्यसबाट तंग्रिँदै थिएँ । एकजना बहिनी दिउँसो एक–डेढघन्टा काम सघाउन आउने गर्थिन् । २०–२१ वर्षकी हुँदी हुन् । म पनि ‘अर्ली ट्वेन्टिज’ भनिने २० र २५को बीचमै थिएँ । उनैलाई अस्पतालसम्म साथी गइदिन अनुरोध गरेँ ।
नगर बसमा चढ्यौँ । उनले मेरो छोरा बोकेकी थिइन् । अलि पछाडितिर बसेका मान्छेले उनलाई सिट छाडिदिए । भिडभाडयुक्त र ढलपल ढलपल गरिरहेको बसमा उनले मलाई बच्चा हस्तान्तरण गर्न सक्ने स्थिति थिएन । उनी जसोतसो गएर बसिहालिन्, म डन्डी समातेर अगाडि उभिइरहेँ । बहिनी वेला–वेला मलाई टिठ मानेर हेर्थिन् । म जसोतसो त्यहाँसम्म पुगूँ, बच्चा समातेर म सिटमा बसूँ र आफू उभिऊँजस्तो अनुहार बनाउँथिन् । तर, मसँग मान्छेहरूलाई यसो बाटो छोड्नुस् भन्दै भिड छिचोलेर त्यहाँसम्म पुग्ने शक्ति थिएन ।
बस खचाखच नै रहिरह्यो, केही गरी नजिकैका सिटमा मान्छे झरे पनि खाली भएका सिटमा झ्याप्प अर्को बलियो मान्छे बसिहाल्थ्यो । मसँग त त्यसरी झ्याप्प सिट ओगट्ने तागत हुने कुरै भएन । बसिसकेका मान्छेलाई ‘म भर्खरै बच्चा जन्माएकी र रगत फर्केर तंग्रिँदै गरेकी केटी (हो म त्यतिबेला ‘केटी’ भन्न मिल्ने उमेरमै थिएँ) हुँ, त्यसैले सिट दिनुस्’ भन्दै याचना गर्ने ऊर्जा र चाहना दुवै भएन । म उभिएरै हस्पिटल पुगेँ । आज कल्पना गर्छु, त्यो आजको जस्तो डिजिटल बेसोमती मान्छेहरूको युग हुन्थ्यो र मैले नजिकै सिट पाएर मेरो तीन महिनाको छोरा काखमा नलिई बसिरहेका वेला कुनै वृद्ध बस चढेर मेरो छेउमा उभिन्थे भने कसैले फोटो खिचेर सामाजिक सञ्जालमा हालिदिएर यस्तो लेखिदिँदो हो, ‘जवान केटी सिटमा ढसमस्म बसेकी छ र वृद्ध उभिएको छ, हाय रे हाय महिला सशक्तीकरण’ आदि ।
०७४ साल असोजको कुरा, दसैँको षष्ठीको दिन काठमाडौंको कलंकीमै चार घन्टाको लडाभाँतीपछि एउटा माइक्रो बस भेट्टाएर नारायणगढ पुग्दै रातिको साढे ९ बज्यो । ‘दसैँकी बुहारी ‘माइत’ बस्न नहुने’ अघोषित नियम तोडेर म बुबाको घर नारायणगढमै बसेँ । बिहान नुहाउन बाथरुम छिरेको त असमयमै रक्तश्राव भइरहेको । स्त्रीरोग विशेषज्ञ साथी डाक्टरलाई फोन गरेँ । नआत्तिऊ, प्याड लगाएर बस र ८ बजेपछि हस्पिटल जाऊ भन्यो ।
नुहाइसकेर आफ्नो बुबाको घर (रत्ननगर)मा रहेका श्रीमान्लाई फोन गरेँ, भाइ र श्रीमान्को साथमा हस्पिटल गएँ, भर्ना भएँ । त्यतिवेला डाक्टरहरूको हडताल चलिरहेको थियो । भाइ त्यहीँ काम गथ्र्याे । उसले राति केही जटिलता आए फेरि आउने, नत्र यहाँ डाक्टर नै नभएका वेला अस्पताल कुरेर नबसौँ भन्यो । भाइले ड्युटी सकेपछि उसलाई पुर्याउने अस्पतालको गाडीमा बसेर घर फर्कें । आमासँग दाइ (फुपूको छोरा) गफ गर्दै हुनुहुन्थ्यो । म गफ सुन्दै सोफामा पल्टिएँ ।
बसमा दुईवटा महिला सिट राखिएको हुन्छ, त्यही सिट आक्कलझुक्कल प्रयोग गरेबापत जिन्स पाइन्ट लगाएकै भरमा महिलालाई यतिविघ्न अपमानित गर्नुभन्दा त बरु बसको सिटबाट ती अक्षरै मेटाइदिए हाइसन्चो हुन्थ्यो
कुरैकुरामा त दाइ (जो निजी कारका धनी हुनुहुन्छ र जसले सायद २० वर्षअघिदेखि सार्वजनिक यातायात प्रयोग गर्नुभएको छैन होला)ले ठ्याक्क भन्नुभो, ‘७० नाघेको बुढो मान्छे उभिन्छ र जिन्स पाइन्ट लगाएका महिला ढसमस्स बस्छन्, आरक्षणको दुरुपयोग भइरहेको छ ।’ सिकिस्त बिरामी मैले यो कुरा सहनै सकिनँ । जुरुक्क उठेर दाइसँग प्रतिवाद गर्दै भनेँ, ‘दाइ म भर्खर जिन्स लगाएरै हस्पिटल भर्ना भएर आएको छु, मेरो बुबा ७२ वर्षको हुनुहुन्छ, अस्पतालको गाडीमा नआएर आज मलाई बुबाले सार्वजनिक बसमा हस्पिटल लाने–ल्याउने गरेको भए बुबा उभिएर म सिटमा बस्नुपथ्र्यो । त्यो देख्नेले मलाई पनि त्यही भन्दा हुन् नि– ७० नाघेको बुढो उभिएको छ र जिन्स पाइन्ट लगाएकी महिला ढसमस्स सिटमा बसेकी छ ।’
पोहोर साल गोरु तिहारका दिन पोखराबाट चितवन जाँदा बसपार्कमै साँझको ५ बजिसकेको थियो । छठको समय भएकाले सबैजसो पूर्व जाने बसका मुडासमेत प्याक भइसकेका थिए । मुग्लिनसम्मको मात्र बस पाइयो, सिट भएको । केटाकेटी नलिई यात्रा गर्दै छु । मुग्लिनबाट एउटा गाडीमा लास्ट सिट भए नि पाइहाल्छु नि भन्ने अति आत्मविश्वासका साथ बस चढेँ । त्यो अति आत्मविश्वासले राति ८ बजे मुग्लिन बजारमा हावा खायो ।
कुनै पनि बसले नारायणगढसम्म लगिदिन मानेनन् । केही हट्टाकट्टा राई भाइहरू (पछि उनीहरूले नै कुराकानीका क्रममा राई हौँ भनेका थिए) पनि बस रोक्दै गरेजस्तो देखेँ, नजिकै गएर लुसुक्क उभिएँ । काठमाडौंबाट आएको जनकपुर जाने बस (जुन नारायणगढ नछिरी जान्थ्यो)लाई एकजना भाइले अलि बलियो स्वरमा अनुरोध गरेपछि उनीहरूलाई लोथर र मलाई रत्ननगरसम्म लगिदिने भयो, त्यो पनि २० रुपैयाँ बढी भाडा लिएर । बसभरि कम्तीमा ६० जना पुरुष हुँदा हुन् र म एक्लै महिला । एक त लोकल प्यासेन्जर म, यसै तल्लो दर्जाको भइहालेँ, कसैले सिट दिने कुरै भएन । दोस्रो जिन्स पाइन्ट लगाएर ढाडमा रकस्याक बोकेको छु, कपाल छोटो छ र शरीर हट्टाकट्टा छ, मलाई कसले किन सिट छोडिदियोस् । डेढ घन्टाजति उभिएरै र गह्रुँगो झोला बोकेरै यात्रा गरेँ । त्यसपछि तीन दिनसम्म सियाइटिका र लिगामेन्टको घाउ बल्झिएर हिँडडुल गर्न सकिनँ । अन्य स्त्रीशरीरजन्य जटिलता त अब नगन्य भइहाले ।
सार्वजनिक यातायात र महिला– जैविक र लैंगिक सम्बन्ध
महिलाको शरीरका केही जैविक विशिष्टता हुन्छन् । बुझ्नुपर्ने कुरा के भने वैचारिक रूपमा सशक्त हुनु र जैविक विशिष्टतायुक्त शरीर लिएर जन्मनु बिल्कुलै फरक कुरा हुन् । कुनै ६ महिनाकी गर्भवती युवती जिन्स लगाएर सार्वजनिक यातायातमा यात्रा गर्दै होली, जसको पेट नदेखिएको होला । एक–दुई महिनाकी नाजुक सुत्केरी युवती जिन्स लगाएरै कार्यालय वा बजार गइरहेकी–आइरहेकी होली । महिनावारी भइरहेकी युवती जिन्स लगाएरै यात्रा गर्दै होली, जो पेट दुखेर इन्तु न चिन्तु भइरहेकी होली, महिनावारीको समयमा हुने खुट्टा दुख्ने/सुन्निने आदि भइरहेको होला र नजिकै उभिएका वृद्धलाई सिट छोड्न नसक्ने होली ।
महिलाको शरीरका केही जैविक विशिष्टता हुन्छन् । बुझ्नुपर्ने कुरा के भने वैचारिक रूपमा सशक्त हुनु र जैविक विशिष्टतायुक्त शरीर लिएर जन्मनु बिल्कुलै फरक कुरा हुन् । कुनै ६ महिनाकी गर्भवती युवती जिन्स लगाएर सार्वजनिक यातायातमा यात्रा गर्दै होली, जसको पेट नदेखिएको होला । एक–दुई महिनाकी नाजुक सुत्केरी युवती जिन्स लगाएरै कार्यालय वा बजार गइरहेकी–आइरहेकी होली । महिनावारी भइरहेकी युवती जिन्स लगाएरै यात्रा गर्दै होली, जो पेट दुखेर इन्तु न चिन्तु भइरहेकी होली, महिनावारीको समयमा हुने खुट्टा दुख्ने/सुन्निने आदि भइरहेको होला र नजिकै उभिएका वृद्धलाई सिट छोड्न नसक्ने होली ।
महिनावारी हुनुअघि वा पछिका चिडचिडे हुने आदि लक्षण ‘प्री वा पोस्ट मिन्स्ट्रुअल सिन्ड्रोम’बाट गुज्रिरहेकी होली र पो छेउमा बसेका ‘वृद्ध’लाई सिट छाड्न सकिन वा सिटमा बसेका उनीहरूलाई रिसाएर सिट छाड्न लगाई कि ! जिन्स पहिरेर सिटमा बसिरहेका ‘जवान’ महिलाले आफ्नो छातीमा अनिवार्य यस्तो पम्प्लेट टाँसेर यात्रा गर्नुपर्ने त होइन होला, जसमा लेखिएको होस्– मैले यो जिन्सभित्र रक्तश्राव थाम्नका लागि दुई मिटर कपडाको प्याड लगाएकी छु, यो जिन्स जहाँ अडिएको छ, त्यही कम्मरको हड्डी खिइएको रोग वर्षौंदेखि भोगिरहेकी छु वा यो जिन्सभित्र मेरो सन्तानको भ्रूण हुर्काइरहेकी छु, जसलाई सातौँ महिना नलागुन्जेल तपाईंहरूले स्पष्ट देख्न सक्नुहुन्न आदि । वा यो सबै केही पनि नभएको अवस्थामै उनीहरू यात्रा गरिरहेका होलान् । जाबो दुईवटा सिटमा दाबी गरेबापत हट्टाकट्टा महिला नै किन नहोऊन्, लान्छित किन हुनुपर्ने ?
महिलाको शरीर मात्र होइन, उनीहरूले गर्ने यात्राको प्रकारका पनि विशिष्टता हुन्छन् । आजसम्मको दिनमा नेपाल होस् वा अरू देश, घरेलु र घरबाहिरका जिम्मेवारीका जटिलता तुलनात्मक रूपमा महिलाले धेरै बहन गरिरहेका छन् । यही कारण दिनभरिमा उनीहरूलाई पुरुषले भन्दा धेरैपटक र छोटा–छोटा दूरीका यात्रा गर्नुपर्छ । बच्चा लिन–पु-याउन जाने, कार्यालय आउने–जाने र घरका लागि सामान किन्न जाने आदि फरक र जेलिएका जिम्मेवारीका कारण उनीहरू जेलिएको दैनिकी बाँचिरहेका हुन्छन् । ‘अन्डरस्ट्यान्डिङ अर्बन ट्राभल बिहेवियर बाई जेन्डर फर इफिसियन्ट एन्ड इक्विटेबल ट्रान्सपोर्ट पोलिसिज’ नामको लेखमा यसबारे अझै विस्तृत पढ्न सकिन्छ ।
नेपालजस्तो देशमा त अधिकांश घरमा कार वा मोटरसाइकलजस्ता निजी सवारीसाधन पुरुषले चलाउँछन् । हरेकजसो सहरी घरमा हामी हेर्न सक्छौँ, कसैको फोन आउनासाथ ‘ल म आइहालेँ’ भनेर मिनेटभरमै निस्कने पुरुषको दाँजोमा महिलाले त्यसो गर्न सक्दैनन् । एक त उनीहरूलाई निस्किनुअघि घरका पचासौँ काम सक्नुपर्ने जिम्मेवारी हुन्छ, दोस्रो असुविधाजनक सार्वजनिक सवारीका कारण उनीहरू घरबाहिर नियमित हिँडडुल गर्न हिचकिचाउँछन् । घरभित्रका जिम्मेवारी धेरै, निजी सवारीसाधनमाथि पहुँच नहुनु र असुविधाजनक सार्वजनिक सवारीसाधनका कारण महिलाको हिँडडुलको स्वतन्त्रता (राइट टु मोबिलिटी) नै कुन्ठित भइरहेको हुन्छ । त्यसैले सार्वजनिक यातायातमा प्राथमिकताका सिट राखिदिएर राज्यले उनीहरूको जैविक विशिष्टता र जेलिएको दैनिकीलाई थोरै भए पनि सम्बोधन गरेको रूपमा लिन सकिन्छ । तर, आफ्नो जेलिएको दिनचर्यालाई थोरै भए पनि सहज बनाउन नजेल्ने लुगाको रूपमा ‘जिन्स पाइन्ट’ लगाइरहेका महिला त्यही जिन्स पाइन्टकै कारण विनाकारण अपमानित भइरहेका छन् ।
नेपालमा महिला सिट– हात्तीका देखाउने दाँत
नेपालको सार्वजनिक बसका महिला सिट महिलाले नै शतप्रतिशत प्रयोग गर्न पाएको देखिँदैन । लामो दूरीमा चल्ने बसमा त झन् आशै गर्नुपर्दैन । बसवालाले ‘अगाडिको सिट खाली छ’ भन्दै महिला सिट बेच्छन् । ‘महिलाको सिट किन पुरुषलाई ?’ भनेर सोध्ने हो भने उनीहरूसँग रेडिमेड जवाफ हुन्छ, ‘महिला बाटोभरि नचढे के गर्ने ?’ तर ‘सिट बिक्री हुनेबित्तिकै चढे के गर्ने त ? अघि भर्खर अगाडिको सिट भनेर टिकट लिएको व्यक्तिले छाड्छ त ?’ भनेर सोध्दा उनीहरूसँग जवाफ हुँदैन ।
यस्ता सिटमा प्रेमिका वा श्रीमतीसँग ढसमस्स महिला सिट ओगटेर बसिरहेका पुरुषबारे बसका स्टाफ भन्छन, ‘उनीहरूले काउन्टरबाटै टिकट नै त्यही सिटको काटेका थिए । बसका मान्छेले स्पष्ट भन्न सक्दैनन् या त तपाईंकी सहयात्री महिलासँग छुट्टै बसेर यात्रा गर्नुस् या महिला सिटबाहेकको अर्को सिटको टिकट लिनुस् ।’ महिला प्रेमिका वा पत्नी भएका आधारमा कुनै पुरुषले महिलाका लागि आरक्षित अर्को एउटा सिट बोनसको रूपमा निर्धक्क उपयोग गरिरहेको हुन्छ, तर त्यसरी प्रेमिका वा पत्नीसँग ढसमस्स महिला सिटमा बसेर यात्रा गरिरहेका जवान पुरुषलाई लान्छित गरिएको फोटो वा सामाजिक सञ्जालका पोस्ट भने कतै देख्न पाइएको छैन ।
महिलाको मामलामा भारत कुनै प्रगतिशील देश होइन । तर, त्यहाँ पनि राज्यको तर्फबाट गरिएका प्रयास हेर्दा हामी त लाज लाग्नेभन्दा पनि तल्लो स्तरमा छौँ भन्ने लाग्छ । सार्वजनिक यातायातमा प्राथमिकताका सिट राखिनु भनेको राज्यले महिलाको हिँडडुलको स्वतन्त्रताको सुनिश्चितिता गर्दै उनीहरूलाई सार्वजनिक वृत्तसँग अभ्यस्त बनाउनका लागि सघाएको हो भन्ने तथ्यलाई भारतले पनि स्वीकार गरेको छ । यो कुरा ‘जेन्डर कन्टेस्ट्स इन दिल्ली मेट्रो, इम्प्लिकेसन्स अफ रिजर्भेसन अफ अ कोच फर वुमन’ शीर्षकको लेखमा अझ विस्तृतमा उल्लेख गरिएको छ ।
दिल्लीमा सन् २०१० देखि हरेक मेट्रो रेलमा महिलाका लागि एउटा डब्बा छुट्याइएको छ, जसमा आफ्ना १२ वर्षसम्मका बच्चा लिएर महिला यात्रा गर्न पाउँछन् । मुम्बईका रेलमा पनि ‘लेडिज स्पेसल’ डब्बा छन् । मुम्बईका नगरबस ‘बेस्ट’ का प्रत्येक बसमा १० वटा सिट महिलाका लागि रिजर्भ हुन्छन् । नेपालमा ‘आरक्षणको दुरुपयोग’ भन्ने लाइनबाट तर्सेकी म मुम्बईमा तीन महिना बस्दा बस चढे पनि पछाडितिर उभिइरहन्थेँ ।
पुरुष यात्रु नै भन्थे, ‘अगाडि जानुस्, लेडिज सिट छन् ।’ ‘होइन यहीँ ठीक छ’ भनेर ‘सुवासिली’ बनिरहेकी मलाई उनीहरू जबर्जस्ती अगाडि पठाउँथे । म नआउन्जेल मज्जाले महिलाका सिटमा बसेका पुरुष मलाई देखेपछि उठेर सिट छाडिदिन्थे । नदेखेमा छेउमा उभिएका पुरुषले भनिदिन्थे ‘लेडिज खडी है ।’ त्यो देखेर म जिल पर्थें । एउटा बसमा कम्तीमा १० वटा महिला सिट भएपछि त फोटो पनि कम खिचिँदा हुन् र सामाजिक सञ्जालमा महिला कम लान्छित हुँदा हुन् । हाम्रो देशमा त सलाइका बट्टाजत्रा बसमा दुईवटा सिट महिला सिट भनेर राखिएको हुन्छ । त्यही सिट आक्कलझुक्कल प्रयोग गरेबापत जिन्स पाइन्ट लगाएकै भरमा महिलालाई यतिविघ्न अपमानित गर्नुभन्दा त बरु बसको सिटबाट ती अक्षरै मेटाइदिए हाइसन्चो हुन्थ्योजस्तो लाग्छ ।
आरक्षण अर्थात् अभिभावकत्व
प्राथमिकताका सिट भनेको राज्यले आफ्ना नागरिकको जैविक वा लैंगिक विशिष्टतालाई स्विकारेर अभिभावकत्व वा संरक्षण प्रदान गरेको हो भनेर त माथि नै भनिसकियो । नेपालका सार्वजनिक यातायात कसैका लगि पनि सुरक्षित र सुविधाजनक छैनन् । घन्टौँसम्म उभिएर यात्रा गर्न हट्टाकट्टा जवान पुरुषलाई पनि सजिलो पक्कै हुँदैन । एउटा बसमा कम्तीमा १० जना अपांग चढ्लान्, १० जना वृद्ध चढ्लान् र १० जना विशिष्ट शारिरिक अवस्था भएका महिला चढ्लान् । सबै सिट ‘आरक्षण वाला’ले सकिदिएर हट्टाहट्टाहरू बस्नै नपाउने त ? के पुरुषका खुट्टै भाँच्चिन्नन् त भन्ने प्रश्न स्वाभाविक हुन् ।
प्राथमिकताका सिट भनेको राज्यले आफ्ना नागरिकको जैविक वा लैंगिक विशिष्टतालाई स्विकारेर अभिभावकत्व वा संरक्षण प्रदान गरेको हो भनेर त माथि नै भनिसकियो । नेपालका सार्वजनिक यातायात कसैका लगि पनि सुरक्षित र सुविधाजनक छैनन् । घन्टौँसम्म उभिएर यात्रा गर्न हट्टाकट्टा जवान पुरुषलाई पनि सजिलो पक्कै हुँदैन । एउटा बसमा कम्तीमा १० जना अपांग चढ्लान्, १० जना वृद्ध चढ्लान् र १० जना विशिष्ट शारिरिक अवस्था भएका महिला चढ्लान् । सबै सिट ‘आरक्षण वाला’ले सकिदिएर हट्टाहट्टाहरू बस्नै नपाउने त ? के पुरुषका खुट्टै भाँच्चिन्नन् त भन्ने प्रश्न स्वाभाविक हुन् ।
एउटा बसमा दुई मात्र आरक्षित सिट राख्ने र त्यसकै बहानामा बारम्बार महिलाको फोटो खिचेर अपमानित गर्नुको सट्टा केही त गर्न सकिएला । के गर्न सकिन्छ भनेर राज्यले र सम्बन्धित व्यवसायीले, विज्ञले अध्ययन गर्ने, योजना बनाउनु बेस होला । सिट संख्या धेरै भएका सार्वजनिक सवारी चलाउन सकिएला, जसमा सकेसम्म सबैले बसेर यात्रा गर्न पाऊन्, हट्टाकट्टा यात्रुले पनि । ठूला बस चले त एउटै बसमा पनि दुवैथरीका लागि आरक्षित सिटको संख्या अलि धेरै बनाउन सकिएला ।
महिलाका लागि सहज सार्वजनिक यातायात हुनु भनेको हिँडडुलको सहजता प्राप्त गर्नु हो, हरेक ठाउँमा उनीहरूको उपस्थिति बाक्लो हुनु हो, यो भनेको राज्यको उत्पादन र प्रणालीमा योगदान दिन सक्नु हो
एउटै बसमा दुईथरी जैविक विशिष्टता भएका व्यक्ति, महिला र ज्येष्ठ नागरिकको लुछाचुँडी नहोस् भन्नका लागि केही त प्रयास गर्न सकिएला । जस्तै, सहरमा अनगिन्ती बस गुड्छन्, तीमध्ये केहीलाई ज्येष्ठ नागरिकका लागि मात्रै चल्ने बनाउन सकिएला, रुट र समयको चर्कोसँग घोषणा गर्न सकिएला । यति–यति बजे यो–यो रुटबाट ज्येष्ठ नागरिक बस चल्नेछन् भनेर । कार्यालय जानेका लागि ‘कर्मचारी बस’ चलाउन सकिएला । त्योबाहेक समस्यामै परेको व्यक्ति छ भने त जिन्स पाइन्ट लगाएका महिलालाई पनि अनुरोध गरेर सिटमा बस्न त पाई नै हालिन्छ होला । महिलाले जिन्स पाइन्ट लगाएकै आधारमा आफ्नो जैविक विशिष्टता बेहोरी–बेहोरीकनै गाली खाइरहेर त यो समस्या समाधान हुने होइन होला ।
पोखराको लेकसाइडमा एउटा क्लिनिक छ, ‘सिइङ ह्यान्ड्स’ । दृष्टिविहीन कर्मचारी काम गर्ने । एक दिन साँझमा लेकसाइडबाट आइरहेको दोस्रो लहरको सिटमा बसेर ड्युटी सकेर आएका सिइङ ह्यान्ड्सका केही कर्मचारी चढे । बसका स्टाफले सबैलाई सम्बोधन गरेर ‘अगाडिका ६ वटा सिट छोडिदिनुस्’ भने । सधैँजस्तै ‘जिन्स पाइन्टमा ठाँटिएकी’ म सिट छाडेर खचाखच बसमा उभिएँ । तर, अपांग सिट भनेर प्रिन्ट गरेर छुट्याइएका जम्मा दुईवटा मात्र सिट भए पनि बसका स्टाफले यसरी आफ्नै सुझबुझले ६ वटा सिट उनीहरूका लागि दिने रहेछन् र उनीहरूको विशिष्टतालाई पहिचान दिएका रहेछन् भन्ने देखेर खुसी पनि लाग्यो ।
एउटा बसभरिमा जम्मा दुईजना महिला, दुईजना ज्येष्ठ नागरिक, दुईजना अपांग मात्रै त चढ्दैनन् । बसभरिका जम्मा दुईवटा आरक्षित सिटले उनीहरूलाई कुनै भयंकर सुविधा दिने पनि होइन । यो कुरालाई यातायात व्यवसायी, नीतिनिर्माताले मनन गर्ने र सबै नागरिकले सकेसम्म कम असुविधाको साथमा र लज्जित हुन नपरीकन यात्रा गर्न पाऊन् भनेर कोसिस गर्नुपर्ने हो । सार्वजनिक यातायातमा सहजता भनेको महिलालाई यात्रा गर्नको लागि अरूमा ‘निर्भर’ नागरिकका रूपमा सीमित नभई स्वतन्त्र हुनका लागि राज्यले सघाउनुपर्ने हो ।
महिलाका लागि सहज सार्वजनिक यातायात हुनु भनेको उनीहरूले हिँडडुलको सहजता प्राप्त गर्नु हो । यो प्राप्त गरेसँगै समाज र सिस्टमका हरेक ठाउँमा उनीहरूको उपस्थिति बाक्लो हुनु पनि हो । यो भनेको राज्यको उत्पादन र अन्य थुप्रै प्रणालीमा उनीहरूले योगदान दिन सक्नु पनि हो । यो सबै भनेको अन्ततः राज्यको मूलप्रवाहमा उनीहरू जोडिनु हो । यसै पनि हिँडडुलको स्वतन्त्रता अत्यन्त कम भएका महिलालाई जिन्स लगाएकै भरमा सधैँभरि अपमानित गरिरहनुचाहिँ कुनै समाधान होइन ।
ConversionConversion EmoticonEmoticon