Loshar2076

Loshar2076
#Tamang culture

अनुहार चम्काउन इन्जेक्सन


डा. प्रकृति ज्ञवाली, छालारोग तथा सौन्दर्य विशेषज्ञ, एस्थेभा स्किन क्लिनिक
अनुहारको सुन्दरताका लागि व्यक्तिले विभिन्न विधि तथा उपाय अपनाएका हुन्छन्। चाहे महिला होस् वा पुरुष आफ्नो अनुहार स्वस्थ र सुन्दर रहोस् भन्ने सबैको चाहना हुन्छ। तर विविध समस्याको कारण व्यक्तिको सुन्दरतामा प्रभाव परेको हुन सक्छ। अनुहार सुख्खा हुँदा अनुहारको सुन्दरतामा असर पुग्छ।
सुख्खा हुने कारण
चिसो, धुलो तथा वातावरणीय प्रदूषणको कारण व्यक्तिको अनुहारको छाला सुख्खा हुन्छ। विशेषगरी जाडो समयमा हिटर, आगो ताप्ने तथा तातो पानीले नुहाउनाले छाला बढी सुख्खा हुन्छ।
अनुहार खुला हुने भएकाले शरीरको अन्य अंगको तुलनामा अनुहारको छाला बढी सुख्खा हुन्छ। घामको किरण, कस्मेटिक्स सामग्रीको प्रयोग तथा छालासम्बन्धी समस्याका लागि प्रयोग गरिने औषधि (रायायनिक तत्व) ले छालाका कोषिका कमजोर हुँदा छाला सुख्खा हुन्छ।
छालाका कोषिका नै कमजोर भएपछि छालामा पानीको मात्रा कम हुन्छ। जसका कारण छाला ओशिलो बनाउने ‘ह्यालुरोनिक एसिड’ कम हुँदै जान्छ। यो एसिड छाला सुख्खा हुन नदिने प्राकृतिक किसिमको तरल पदार्थ हो।
सामान्यतः छाला सुख्खा हुनबाट बचाउनका लागि अनुहारलगायतका अंगमा मोश्चराइजर (कस्मेटिक्स सामग्री ) प्रयोग गरिन्छ। मोश्चराइजरमा ‘ह्यालुरोनिक एसिड’, सेरामाइडजस्ता तत्व हुन्छन्। मोश्चराइजरले केही हदसम्म भए पनि छाला सुख्खा हुनबाट बचाउँछ। तर यस्ता मोश्चराइजरको प्रयोग गर्नु छाला सुख्खा हुनबाट बच्ने दीर्घकालीन समाधान भने हैन।
छालाको बाहिरी सतहलाई ‘इपिडर्मिस’ सतह भनिन्छ। अनुहारमा मोश्चराइजरको प्रयोग गर्दा छालाको बाहिरी सतहमा मात्रै हुन्छ र  भित्री (डर्मिस) सतहसम्म सोसिँदैन। यसरी लगाइने मोश्चराइजरले छालामा भएको पानीको मात्रा छाला बाहिर जानबाट त बचाउँछ। तर, छाला धेरै सुख्खा भएको अवस्थामा यसले पूर्णरुपमा काम नगर्ने भएकाले पटक–पटक लगाइरहनुपर्ने हुन्छ। जुन असहज हुन सक्छ।
‘इन्जेक्टिङ मोश्चर’ विधि
त्यसैले छाला सुख्खा हुनबाट बचाउन र छालामा चमकता ल्याउनका लागि आजकाल ‘इन्जेक्टिङ मोश्चर’ विधिको प्रयोग बढ्न थालेको छ। बाहिरबाट लगाइने मोश्चराइजरको सट्टामा प्रयोग गरिने ‘इन्जेक्टिङ मोश्चर’ विधिमा सानो सुईको माध्यमबाट छालाको भित्री सतहसम्म ‘ह्यालुरोनिक एसिड’ पु-याइन्छ। छाला सुख्खा हुनबाट बच्न सकिने यो विधि आधुनिक तथा नयाँ विधि हो।
अनुहारको छाला सुख्खा हुनबाट बचाई अनुहार चम्किलो बनाउने यो विधिमा मसिनो सुईको प्रयोग गरी अनुहारमा ‘इन्जेक्ट’गरिन्छ। अनुहारमा इन्जेक्ट गरिने सुईमा प्रशोधित ‘ह्यालुरोनिक एसिड’ राखिन्छ। त्यसपछि थोपा–थोपा गर्दै अनुहारको छालाभित्रको भागमा इन्जेक्सनमार्फत एसिड हालिन्छ। दुई एमएल यस्तो एसिडले पूरै अनुहारमा इन्जेक्ट गर्न पुग्छ।
इन्जेक्ट गरिसकेपछि यस्तो तरल एसिड छालाभित्र भण्डारण हुने भएकाले छालामा आवश्यक पानीको मात्रा पुग्छ। जसले चाउरिएका छालाका कोषिका स्वस्थ भई कसिलो र लचिलो हुन्छ र छाला सुख्खा हुन पाउँदैन अनि छालामा चमकता आउँछ।
अनुहार चम्किलो तथा सुन्दर बनाउने ‘इन्जेक्टिङ मोश्चर’ विधि सामान्यतः २० वर्ष उमेर नाघेका तथा पाको उमेरका व्यक्तिले समेत गर्न सकिन्छ। वयस्कले मात्रै हैन पाको उमेरका व्यक्तिले पनि अनुहार सुन्दर बनाउने यो विधि अपनाउँदा छाला लत्रिने तथा चाउरिने पक्रियाबाट बच्न सकिन्छ।
यस्तो छ नियम
‘इन्जेक्टिङ मोश्चर’ विधि प्रयोग गर्दा केही नियम भने अपनाउनुपर्ने हुन्छ। यो विधि प्रयोग गर्नु अघि अनुहारलाई ‘अल्कोहल स्वाब’ले सफा गरिन्छ। त्यसपछि अनुहारमा इन्जेक्ट गर्दा नदुख्ने तथा छाला लठ्याउने नम्बिङ क्रिम लगाइन्छ। यो क्रिम लगाएको आधा घण्टापछि अनुहारमा इन्जेक्ट गर्न सकिन्छ। इन्जेक्सन गर्न करिब आधा घण्टाको समय लाग्छ। यसरी व्यक्तिलाई बेहोस नबनाई सामान्य पक्रियाबाटै सुईले इन्जेक्ट गर्न सकिन्छ।
‘इन्जेक्टिङ मोश्चर’ विधि अपनाएर इन्जेक्सन गरिसकेपछि अनुहार सुन्निने, रातो हुने, अनुहारमा निला डाम बस्ने, रगत आउने सम्भावना न्यून हुन्छ। यो विधिमा छालाको माथिल्लो सतहमा मात्रै सुईले इन्जेक्ट गरिन्छ। त्यसैले यो विधि अनुहार सुन्दर तथा चम्किलो बनाउने सुरक्षित विधि हो।
इन्जेक्ट गरिसकेपछि एक दिनसम्म औंलाले अनुहारमा छुनु भने हुन्न। औंलामा ब्याक्टेरिया हुन सक्ने भएकाले औंलाले अनुहारमा छुँदा छालाको प्वालबाट ब्याक्टेरिया छिरी अनुहारमा संक्रमणको जोखिम हुन्छ। त्यसैगरी एक दिनसम्म मेकअप र फेसियल गर्नु हुन्न। इन्जेक्ट गरेको एक हप्तासम्म तातो पानीले मुख धुनु हुन्न।
लेजरको तातोले अनुहारको छालाभित्र भएको पानीको मात्रा कम हुन जान्छ त्यसैले एक महिनासम्म अनुहारमा लेजर सर्जरी गर्नु हुन्न।
यो विधि अपनाइसकेपछि प्रशस्त पानी पिउनुपर्छ। ‘इन्जेक्टिङ मोश्चर’ विधि अपनाएर पानी पिउनाले अनुहारको कोषिकामा पानीको मात्रा पुगी प्रभावकारी रुपमा पानी भण्डारण भइरहन सक्छ। जसले अनुहारको छाला सुख्खा हुनबाट बच्न सकिन्छ।
यो विधि अपनाउनु एक हप्ताअघि र एक हप्तापछिसम्म मादक पदार्थ सेवन गर्नु हुन्न। माद्यक पदार्थ सेवन गर्नाले अनुहारमा निलो डाम बस्न सक्छ। यसमा सचेत हुनुपर्छ। ग्रिन–टी, रगत पातलो बनाउने औषधि इन्जेक्सन विधि गर्नुभन्दा एक हप्ता अघिदेखि एक हप्तापछिसम्म सेवन गर्नु हुन्न।
‘इन्जेक्टिङ मोश्चर’ विधि एक पटक गरिसकेपछि सामान्यतः एक वर्षसम्म प्रभावकारी काम गर्छ। यो विधि अपनाइसकेपछि पटक–पटक मोश्चराइजरको प्रयोग गरिरहनु पर्दैन। यो विधि अपनाएको एक वर्षसम्म अनुहार सुख्खा हुन नपाउने भएकाले अनुहार चम्किलो भई व्यक्ति सुन्दर देखिन सहयोग मिल्छ। यो विधि अपनाउनुपूर्व विशेषज्ञ चिकित्सकसँग परामर्श भने लिनु उचित हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का
Previous
Next Post »