Loshar2076

Loshar2076
#Tamang culture

मासु किन नखाने ? [महाभारत–चिन्तन]

युधिष्ठिरको जिज्ञासालाई शान्त गर्ने क्रममा भीष्मले हिंसा र मांसभक्षणको घोर निन्दा गरेका छन् । ब्रह्मवादी व्यक्तिहरुले मन, वचन र कर्मले हिंसा नगर्ने एवं मासु नखाने यी चार उपायद्वारा अहिंसा धर्मको पालन हुन्छ भन्ने कुरा बताएका छन् । जसरी चौपाया पशुले तीन खुट्टाले टेक्न सक्तैनन् त्यसैगरी यिनमा कुनै एउटा अंश पनि कमी रह्यो भने अहिंसा धर्मको पूर्णतः पालन हुँदैन । ब्रह्मवादी महात्माहरुले हिंसादोषका मुख्य तीन कारणहरुको चर्चा गरेका छन् : १. मनले मासु खाने इच्छा गर्नु, २. वचनले मासु खाने उपदेश दिनु र ३. प्रत्यक्षरुपमा मासुको स्वाद लिनु । यी तीनैलाई हिंसादोषका आधार मानिएको छ । त्यसैले कुनै व्रत र तपस्यामा संलग्न भएका विद्वान् व्यक्तिले कहिल्यै मासु खानु हुँदैन ।

आफ्नै सन्तानको मासु र साधारण मासुमा कुनै अन्तर छैन । तसर्थ मोहवश मासु खाने व्यक्ति नराधम मानिन्छ । विषयको आस्वादन गर्नाले त्यसप्रति आसक्ति बढ्ने भएकाले मासुको आस्वादन लिएका व्यक्तिलाई सधैं मासु खाऊँ खाऊँ जस्तो लाग्नु अस्वाभाविक होइन । मसला राखेर तयार गरिएको, मसला नराखीकन तयार गरिएको, पकाएको, केवल नुन राखेको र अल्नो मासुका यस्ता जेजस्ता परिकार हुन्छन् तिनै तिनैमा रूचिभेदले गर्दा मांसाहारी मान्छेको चित्त आसक्त हुन्छ । अर्काको धनधान्य नष्ट गर्ने र मांसभक्षणको प्रशंसा गर्ने व्यक्ति स्वर्गबाट बहिष्कृत हुन्छ । शिवि आदि धेरैजसो श्रेष्ठ व्यक्तिले अर्काको रक्षाका लागि आफ्नो प्राण दिएर वा आफ्नै शरीरको मासु दिएर भए पनि अर्काको मासुको रक्षा गरी स्वर्गलोकमा गएका थिए ।

सुन्दर रुप, पूर्णाङ्गता वा साङ्ग, पूर्ण आयु, उत्तम बुद्धि, स¤व, बल र स्मरणशक्ति प्राप्त गर्न चाहने महात्माहरुले सर्वथा हिंसाको त्याग गर्छन् । प्रत्येक महिना अश्वमेध यज्ञ गर्ने व्यक्ति र मासु एवं मदिराको मात्र परित्याग गर्ने व्यक्ति दुवैले एकै किसिमको फल प्राप्त गर्दछन् । मासु नखाने, पशुको हिंसा नगर्ने र पशुको हिंसा नगराउने व्यक्ति सम्पूर्ण प्राणीहरुको मित्र मानिन्छ । जुन व्यक्तिले मासुको परित्याग गर्छ त्यस्ता व्यक्तिको कुनै प्राणीले तिरस्कार गर्न सक्तैन र त्यस्तो व्यक्ति नै सबै प्राणीको विश्वासपात्र एवं सम्मानित पनि हुन सक्छ ।

नारदजीका विचारमा जसले अर्काको मासुद्वारा आफ्नो मासु बढाउन चाहन्छ त्यसले निश्चय नै दुःख उठाउनुपर्छ । मद्य र मासु दुवै परित्याग गर्ने व्यक्तिले नै सदैव यज्ञ गर्न, दान दिन र तपस्या गर्न पनि सक्छ । जसले पहिला मासु खान्थ्यो तर पछि मासुको सर्वथा परित्याग गरेको छ त्यस्तो व्यक्तिलाई जुन पुण्य प्राप्त हुन्छ त्यस्तो पुण्य सम्पूर्ण व्रत र यज्ञहरुले पनि प्रदान गर्न सक्तैनन् :

सर्वे वेदा न तत् कुर्युः
सर्वे यज्ञाश्च भारत ।
यो भक्षयित्वा मांसानि
पश्चादपि निवर्तते ।।
(महाभारत १३।११५।१६)

मासुको आस्वादन लिएर एवं अनुभव गरेर त्यसलाई त्याग्ने र समस्त प्राणीहरुलाई अभयदान दिने यस किसिमको सर्वश्रेष्ठ अहिंसा व्रतको आचरण गर्न अत्यन्त कठिन छ । जसले प्राणीहरुलाई अभयदान दिन्छ ऊ यस संसारमा निःसन्देह प्राणदाता मानिन्छ । त्यसैले सम्पूर्ण प्राणीहरुलाई आपूmसमान ठान्नुपर्छ । मासु खान छाड्नु नै धर्म, स्वर्ग र सुखको सर्वोत्तम आधार हो । अहिंसा परम धर्म, परम तप र परम सत्य हो किनकि अहिंसाद्वारा नै धर्ममा प्रवृत्ति हुन्छ ।

जसले मासु खाँदैन उसलाई संकटपूर्ण स्थानहरुमा, डरलाग्दो वनमा, रात र दिन दुवै सन्ध्यामा, चौबाटामा र सभासम्मेलनहरुमा पनि कसैको डर हुँदैन । सबै प्राणीलाई शरण दिने भएकाले त्यस्तै व्यक्ति विश्वासपात्र पनि ठहरिन्छ । यदि संसारमा कोही पनि मासु खाने व्यक्ति रहँदैनन् भने पशुको हिंसा गर्ने व्यक्ति पनि कोही रहने छैनन् किनभने हत्यारा व्यक्तिले नै मासु खानका लागि निरपराध पशुको हत्या गर्छन् । यदि मासु अभक्ष्य ठानेर सबैले त्यसलाई खान छाडिदिए भने पशुहरुको हत्या स्वतः बन्द हुनेछ । मासु खाँदा हिंसा गरिएको पशुको पाप लाग्नेछ । तसर्थ आफ्नो कल्याण चाहने व्यक्तिले सर्वथा मासुको परित्याग गर्नुपर्छ ।

अखादन्ननुमोदंश्च
भावदोषेण मानवः ।
योऽनुमोदति हन्यन्तं
सोऽपि दोषेण लिप्यते ।।
(पूर्ववत् १३।११५।३९)

अर्थात् जसले स्वयं मासु खाँदैन र मासु खाने कार्यको अनुमोदन गर्दछ त्यो मान्छे पनि भावदोषका कारण मांसभक्षणकै पापको भागी हुन्छ । त्यसैगरी जसले पशुलाई मार्ने व्यक्तिको अनुमोदन गर्छ ऊ पनि हिंसाकै दोषको भागी हुन्छ । जसले मासु खाँदैन र सम्पूर्ण प्राणीहरुमा दया गर्छ उसको कुनै पनि प्राणीले तिरस्कार गर्दैन र ऊ सदैव दीर्घायु एवं निरोगी हुन्छ । मासु खानुभन्दा पनि बढ्ता दोष पशुहत्या गर्दा लाग्छ ।

‘अभक्षणे सर्वसुखं मांसत्य मनुजाधिप’ (पूर्ववत् १३।११५।५२) अर्थात् मांसभक्षण नगर्नाले सबै प्रकारको सुख प्राप्त हुन्छ । सय वर्षसम्म कठोर तपस्या गर्नु र मासु खान छाड्नु दुवै समान मानिन्छ । जसले मासु खान छाड्दैनन् तिनीहरुले पनि विशेषतः शरद् ऋतु र शुक्लपक्षमा मदिरा र मासुको सर्वथा परित्याग गर्नाले धर्म हुन्छ :

कौमुदे तु विशेषेण
शुक्लपक्षे नराधिप ।
वर्जयेन्मधुमांसानि
धर्मो ह्यत्र विधीयते ।।
(पूर्ववत् १३।११५।५४)

वर्षको चार महिनामात्र पनि मासु खान छाड्ने व्यक्तिले कीर्ति, आयु, यश र बल प्राप्त गर्दछ । एक महिनासम्म पनि जसले मासु खान छाड्छ त्यो व्यक्ति सुखी र निरोगी हुन्छ भने जसले कहिल्यै मासु खाँदैन त्यसले प्राप्त गर्ने लाभको त कुनै सीमा नै छैन । असोज महिनामा मासु नै नखाने र कहिल्यै मासु नखाने राजाहरु पनि पुण्यका प्रभावले स्वर्गलोक गएका थिए ।

मधु मांसं च ये नित्यं
वर्जयन्तीह धार्मिकाः ।
जन्मप्रभृति मद्यं च
सर्वे ते मुनयः स्मृताः ।।
(पूर्ववत् १३।११५।७०)

अर्थात् जुन धार्मिक व्यक्तिले जन्मदेखि नै यस संसारमा मह, मदिरा र मासु सधैँका लागि त्याग गर्छन् ती सबै मुनि मानिन्छन् । जसले मासु नखाने कुरा अरुलाई सुनाउँछ त्यसले समेत कहिल्यै पनि नारकीय यातनाहरु भोग्नु पर्दैन ।

शुक्राच्च तात
सम्भूतिर्मांसस्येह न संशयः ।
भक्षणे तु महान्
दोषो निवृत्त्या पुण्यमुच्यते ।।
(पूर्ववत् १३।११६।९)

अर्थात् मासु खाँदा महान् दोष छ किनकि मासुको उत्पत्ति वीर्यबाट हुन्छ भन्ने कुरामा शङ्का छैन । अतः त्यसबाट निवृत्त हुनुमा नै पुण्य बताइएको छ । संसारमा आफ्नो प्राणभन्दा बढ्ता प्रिय अर्को केही छैन । त्यसैले मान्छेले जसरी आपूmमाथि दया चाहन्छ त्यसैगरी अर्कामाथि पनि दया गर्नुपर्छ । यसलोकमा र परलोकमा दयाभन्दा अर्को ठूलो पुण्य कार्य केही छैन । दयालु व्यक्तिका लागि डरको सामना गर्न नपर्ने भएकाले यो लोक र परलोक दुवै उसका लागि सुखद हुन्छन् । प्राणदानभन्दा ठूलो अर्को दान छैन भने आत्माभन्दा प्रिय अर्को वस्तु छैन । कुनै पनि प्राणीका लागि मृत्यु अभीष्ट नभएकाले पशुहत्या नगर्ने र मासु नखाने व्यक्तिले स्वर्गलोक प्राप्त गर्दछ ।

मां स भक्षयते यस्माद्
भक्षयिष्ये तमप्यहम् ।
एतन्मांसस्य मांसत्व–
मनुबुद्ध्यस्व भारत ।।
(पूर्ववत् १३।११६।२५)

अर्थात् जसको वध गरिन्छ त्यस प्राणीले यसो भन्छ ः ‘आज मलाई त्यसले खान्छ भने कुनै बेला मैले पनि उसलाई खानेछु ।’ यही नै मांसको मांसत्व हो र यसैलाई मांस शब्दको तात्पर्य ठान्नुपर्छ । यस जन्ममा जुन जीवको हिंसा हुन्छ त्यसले अर्को जन्ममा सदैव आफ्नो घातकको वध गर्दछ । जसले जुन जुन शरीरले जुन जुन कर्म गर्छ उसले त्यस त्यस शरीरद्वारा तत् तत् कर्मको भोग गर्दछ ।

अहिंसा परमो
धर्मस्तथाहिंसा परो दमः ।
अहिंसा परमं
दानमहिंसा परमं तपः ।।
अहिंसा परमो
यज्ञस्तथाहिंसा परं फलम् ।
अहिंसा परमं
मित्रमहिंसा परमं सुखम् ।।
(पूर्ववत् १३।११६।२८–२९)

अर्थात् अहिंसा परम धर्म, परम संयम, परम दान, परम तपस्या, परम यज्ञ, परम फल, परम मित्र र परम सुख हो । यज्ञादिमा गरिने ठूल्ठूला दानभन्दा पनि अहिंसाको धर्म सर्वोच्च छ । हिंसा नगर्नेको तपस्या अक्षय हुन्छ र हिंसा नगर्ने व्यक्ति सबै प्राणीको मातापिताजस्तै हो । अहिंसाबाट हुने लाभको वर्णन सय वर्षसम्म पनि गरेर सकिन्न । तसर्थ अहिंसक बनी महान् पुण्य आर्जन गर्न मांसभक्षण गर्ने प्रवृत्तिलाई सदैव त्याग्नु आवश्यक छ ।

Previous
Next Post »