Loshar2076

Loshar2076
#Tamang culture

असल शिक्षकका विशिष्ट पहिचान

शिक्षणप्रतिको रूचि र लगन

हामी सबैले विद्यालयको जीवन पूरा गरेका छौँ । विश्वविद्यालय अध्ययनको अनुभव पनि हामीसित छ । वर्षौंवर्ष अध्ययन गर्दा सयौँ शिक्षकशिक्षिकाले पढाउनुभयो, तर सबैसित हामी उत्तिकै खुलेर प्रस्तुत भएनौँ, किनकि सबैले हामी खुल्ने वातावरण निर्माण पनि गर्नुभएन । हामीलाई पढाउने ती सयौँ शिक्षकशिक्षिकाहरुको सम्झना पनि आज हामीसित छैन, तर औँलामा गन्न सकिने केही शिक्षकहरु भने हाम्रो स्मरणमा हुनुहुन्छ । आज पनि हामीले सम्झिरहने ती आदरणीय शिक्षकशिक्षिकाले भनेका अथवा सिकाएका कुरालाई उत्तिकै श्रद्धाका साथ जीवन व्यवहारमा लागू गर्दछौँ ।

यो त हामीलाई प्रभावित पारेका र पढाइलेखाइमा प्रेरित गरेका शिक्षकका कुरा भए । हामीसित शिक्षकहरुसितका सुखद स्मरणहरु मात्र छैनन्, कतिपय दुःखद स्मरण पनि छन् । सम्झँदै शिर झुक्ने शिक्षकहरु पनि हुनुहुन्छ भने कतिको सम्झना आउँदा पनि मन दुःखी हुन्छ, सकेसम्म सम्झन नपरे हुन्थ्यो भन्ने लाग्छ । ती शिक्षकले हामीलाई हाम्रो मनोविज्ञानको प्रतिकूल हुने गरी शिक्षण गर्दा वा व्यवहार गर्दाको परिणाम आज उहाँप्रति हाम्रो मनमा कुनै पनि श्रद्धा बाँकी छैन ।

आज हामी स्वयम् शिक्षक भएका छौँ भने हामीले विचार गर्नुपर्ने यही कुरा हो । हामीलाई पढाउने शिक्षकमध्ये कोही किन यति धेरै श्रद्धेय अनि कोही किन यति धेरै अश्रद्धेय ? कसैलाई सम्झँदै आनन्द आउँछ, तर कसैलाई किन सम्झनै नपरे हुन्थ्यो जस्तो लाग्छ ? यी प्रश्नका उत्तरमाथि विचार गर्नु हाम्रो कर्तव्य हो ।

जसले जागिर खाए, कामका लागि मात्र काम गरे, नाम मात्रको शिक्षण गरे, तिनले कहिल्यै पनि हाम्रो मनोभावना बुझेनन् । उनीहरुसित प्यासन थिएन, शिक्षणको गरिमा धान्न सक्ने योग्यता थिएन । ‘म केवल जागिरे होइन, एउटा असल अभिभावक र संस्कार निर्माता पनि हुँ’ भन्ने भावना भएका भए ती श्रद्धेय हुनेथिए, स्मरणीय हुनेथिए । आज हामीले तिनलाई सम्झन्छौँ, जसले हामीलाई स्नेह गर्थे, नियमित कक्षामा आउँथे, गृहकार्य परीक्षण गर्थे, हामीलाई उत्प्रेरित गर्थे । हामीसित छु्ट्टिन नपरे हुन्थ्यो भन्ने चाहन्थे ।

हाम्रा बालबालिका पनि हामीजस्तै हुन् । आज हामीले जस्तो व्यवहार गर्दछौँ, भोलि तिनले त्यसकै आधारमा हामीलाई सम्झने वा बिर्सने छन् । हामीले कुनै पनि कामलाई जब प्यासनको रुपमा लिन्छौँ, अथवा यो नै मेरो सर्वस्व हो भनेर पेसालाई प्रेम गर्दछौँ, त्यसले नै हामीलाई आनन्द र स्थायित्व प्रदान गर्दछ । जतिबेला पनि ‘पढाऊँ पढाऊँ’ होस्, घरमा बस्दा पनि छटपटी होस्, बालबालिकालाई देख्दा आनन्द आओस् । यो पेसाप्रतिको प्रेम हो । जब शिक्षण तपाईंको रूचि, सोख र प्रेमको काम हुन्छ, त्यसपछि यो जागिरभन्दा माथि पुग्छ र त्यसबाट तपाईंले एउटा जागिरेले पाउनेभन्दा धेरै विशिष्ट कुरा पाउन सक्नु्हुन्छ ।

पैसाका लागिमात्रै काम गर्दा पैसामात्रै पाइन्छ । जागिर मात्र ठान्यौँ भने त्यसले दिने कुरा अत्यन्त सीमित हुन्छ, तर जब तपाईंले त्यसलाई आफ्नो रूचि र सोखमा बदल्नुहुन्छ, तब तपाईं अनन्त प्राप्तिका हकदार हुनुहुन्छ । हिजो जुन शिक्षकले हामीलाई त्यस्तै रूचिका साथ पढाए, आज तिनलाई हामीले रूचिका साथ सम्झन्छौँ । हाम्रो हकमा पनि यही सत्य लागू हुन्छ । तसर्थ, असल शिक्षकले शिक्षणलाई सधैँ आफ्नो रूचि र प्रिय कर्मका रुपमा स्वीकार गर्नुपर्ने हुन्छ ।

शिक्षक कम, सहयोगी बढी

हामी शिक्षक त हौँ, तर त्योभन्दा धेरै सहयोगी हौँ, गाइड हौँ, मार्गदर्शक हौँ । हामी शिक्षक भए पनि कक्षामा पढाउने अर्थात् एकोहोरो सिकाउने, प्रवचन दिने, उनीहरुलाई सुन्न बाध्य गराउने काम गर्नुहुँदैन । हाम्रो दायित्व भनेकै यस्तो अवसर सिर्जना गर्नु हो, जहाँ बालबालिकाले सहजरुपमा सिक्न सक्दछन् । यस्तो वातावरण निर्माण गर्नु हो, जहाँ बालबालिकाको सिकाइ रूचिकर र प्रभावकारी बन्न सक्छ ।

आज पनि हामीले हे¥यौँ भने शिक्षकले धेरै जान्ने तर विद्यार्थीले जान्दै नजान्ने अवस्था छ । शिक्षकले विद्यार्थीले भन्दा धेरै जान्नैपर्छ भन्ने हुँदैन । सिकाइको कुनै सीमा हुँदैन । हाम्रा बालबालिकाले राम्रो र उपयुक्त साथ, सहयोग र वातावरण पाए भने हामीले भन्दा पनि धेरै कुरा सिक्न सक्छन् । शिक्षकले जहिले पनि ‘मैले भन्दा मेरा विद्यार्थीले धेरै सिक्नुपर्दछ’ भन्ने मान्यता राख्नुपर्दछ ।

हामीकहाँ आजका मितिसम्म पनि उही पुरानै शिक्षणविधि छ । शिक्षक कक्षामा गएर एकोहोरो बोल्ने, आफूसित भएको कुरा पोख्ने, बगाउने अनि फर्कने । बालबालिका मन लागी नलागी सुन्नुपर्ने । यहाँ हामी शिक्षक बन्न खोज्यौँ, पढाउन खोज्यौँ । यसले विद्यार्थी हामीबाट टाढा हुन्छन्, हामी पनि विद्यार्थीबाट टाढा हुन्छौँ । कक्षामा त शिक्षकले मात्रै एकोहोरो अभ्यास गरेका हुँदा शिक्षकमात्रै जान्ने अवस्था आयो । यो विधि काम लागेन ।

त्यसैले, असल शिक्षकले जहिले पनि आफूलाई सिकाइको मध्यस्थकर्ता, सहयोगी, उत्प्रेरक अथवा मार्गदर्शकको रुपमा विकास गर्न जरूरी छ । बालबालिकाले हामीबाट बेलाबेलामा मार्गदर्शन, जानकारी, दिशादर्शन पाउन सक्छन्, तर हाम्रो मात्रै एकोहोरो प्रवचनले तिनमा आलस्यमात्रै पैदा गर्ने काम गर्दछ । हामी सहयोगी भयौँ, समन्वयकर्ता भयौँ, उत्प्रेरक भयौँ वा मार्गदर्शक भयौँ भने बालबालिका पनि उत्तिकै सक्रिय हुने अवसर पाउँछन्, उत्तिकै अभ्यास गर्ने अवसर पाउँछन् । हामीले त उनीहरुले धेरैभन्दा धेरै सिकून् भन्ने चाहने हो, आफूले धेरैभन्दा धेरै जानूँ भन्ने होइन । ठीक छ, जान्ने नै हो भने कसरी उत्प्रेरित गर्ने भन्ने जानौँ, कसरी बालबालिकालाई धेरै सिक्ने बनाउन सकिन्छ भन्ने जानौँ र कसरी आफू कम अनि बालबालिका बढी सक्रिय हुने अवस्था सिर्जना गर्न सकिन्छ भन्ने जानौँ । कक्षामा त्यसैले, पढाउनभन्दा धेरै बालबालिकाले पढ्ने वातावरण निर्माण गर्नतिर प्रयास गरेर नै हामी असल शिक्षक बन्न सक्दछौँ ।

बालमनोभावनाको ज्ञान

बालबालिका कस्तो अवस्थामा छन् ? उनीहरुको सिकाइको स्तर के हो ? पढ्नका लागि उनीहरु कत्तिको तयार छन् ? यदि यी तमाम प्रश्नहरुमाथि हामीले विचार गरेनौँ भने हाम्रो प्रयास ‘बालुवामा पानी’ बराबरमात्रै हुन्छ । बालबालिकालाई बुझ्नुको अर्थ उनीहरुलाई पढ्नु हो । उनीहरुलाई पढ्नुको अर्थ उनीहरुको शारीरिक, मानसिक, पारिवारिक, भावनात्मक, सामाजिक, स्वास्थ्यगत स्थितिको जानकारी हासिल गर्नु हो । जब हामी बालबालिकाका अवस्थाबारे जानकार हुन्छौँ, तबमात्र हामीले कक्षामा गर्ने भूमिका प्रभावकारी हुन सक्छ ।
जतिबेला पनि बालबालिका एउटै कामका लागि तयार हुँदैनन् । हामीले जुन कुरा सिकाउने तयारी गरिरहेका छौँ, त्यसका लागि उनीहरुको तयारी शतप्रतिशत चाहिन्छ । यदि उनीहरु सुरूमा तयार नभए पनि हाम्रो उत्प्रेरणाका कारण पछि तयार हुन सक्छन् । जे होस्, जब उनीहरु तयार हुन्छन्, त्यसपछि गरिएको प्रयासले मूर्तरुप ग्रहण गर्दछ । बालबालिकालाई तयार बनाएर अथवा प्रसन्न तुल्याएर शिक्षण गर्ने शिक्षक पनि असल शिक्षक बन्न सक्छन् ।

सुरक्षित सिकाइ

बालबालिकाले कक्षामा यदि आफूलाई सुरक्षित महसुस गरे भने धेरै मह¤वपूर्ण काम गर्न सक्छन् । एउटा सानो बालकलाई उसका बाबुआमाले दुवै हात छोडेर आकाशमा फ्याँक्दा पनि हाँसिरहन्छ । यदि बाबुआमाले थोरैमात्रै गल्ती गर्ने हो र खस्दै गरेको बालकलाई समात्न बिर्सिने हो भने बच्चाको तुरून्त निधन हुन सक्छ, तर पनि बालक हाँस्छ, प्रसन्न हुन्छ, किनकि उसलाई मेरा बाबा अथवा आमा हुनुहुन्छ, उहाँले त्यस्तो गल्ती गर्नुुहुन्न भन्ने विश्वास छ । उसले आफूलाई सुरक्षित महसुस गरेको हुन्छ । त्यही सुरक्षाको बलमा ऊ आकाशमा फ्याँकिदा पनि खुसी छ ।

प्रस्तुत दृष्टान्तका माध्यमले यहाँ भन्न खोजिएको कुरा के हो भने हाम्रा बालबालिकाले यदि आफू सुरक्षित भएको महसुस गरे भने चुनौतीपूर्ण काम पनि सजिलै गर्न सक्छन् ।

घरमा डर, त्रास र असुरक्षाको अनुभव गरेका बालबालिका कुनै पनि काममा अघि सर्न सक्दैनन् । बालबालिकाको आत्मबल वृद्धि गर्न पनि कक्षामा शिक्षकले सुरक्षित र निर्धक्क वातावरण निर्माण गर्नु अनिवार्य हु्न्छ । कक्षामा अगाडि आएर बोल्दा बिग्रन सक्छ र बिग्रँदा शिक्षकले गाली गर्ने, अपमान गर्ने, गिज्याउने, साथीहरु हाँस्ने गरे भने बालबालिकाले फेरि अर्कोपटक त्यस्तो हिम्मत गर्न सक्दैनन् । तसर्थ, असल शिक्षकले जहिले पनि बालबालिकालाई आँटी, साहसी र चुनौतीसित भिड्न सक्ने बनाउनुपर्छ, तर त्यसका लागि उनीहरुले आफू अत्यन्त सुरक्षित र खतरामुक्त छु भन्ने महसुस भने गरेकै हुनुपर्दछ ।

जस्ता शिक्षक, उस्तै विद्यार्थी

हामी शिक्षक अभिभावक पनि हौँ । हाम्रा छोराछोरी पनि कतै न कतै त पढिरहेकै पनि छन् । हामीले पढाएकै विद्यालयमा पढेका पनि हुन सक्छन्, अथवा अन्य कुनै विद्यालयमा । तिनलाई हामीले सिकाउन खोज्दा यदि कक्षामा उनीहरुलाई पढाउने सर अथवा मिसले भन्दा फरक किसिमले सिकाउन खोज्यौँ भने तिनले मान्दैनन् । ‘हामीलाई त मिसले अथवा सरले यसरी पढाउनुभएको छ’ भनेर भन्छन् । सर अथवा मिसले भन्नुभएका अथवा सिकाउनुभएका कुरा गल्ती नै भए पनि तिनका लागि अन्तिम र अकाट्य हुन्छ । यसको अर्थ, हामीसित जे छ हाम्रा बालबालिकासित पनि त्यही हुन्छ भन्नु हो । यदि शिक्षक चुनौती बेहोर्ने, अलिक महान् उद्देश्य भएको, फराकिलो, सिर्जनशील र व्यापक छ भने बालबालिका पनि त्यस्तै हुन्छन् । होइन, हामी नै अल्छी छौँ, समयमा काम गर्दैनौँ, नीतिनियमलाई उल्लङ्घन गर्छौं, थोरैमै चित्त बुझाउँछौँ अथवा एउटै विकल्पमा मात्रै सीमित हुन्छौँ भने बालबालिका पनि त्यस्तै प्रकृतिका बन्दछन् । त्यसैले, असल शिक्षकले जहिले पनि बालबालिकालाई सर्वोच्च, उदात्त, महान् र विशिष्ट सिकाइ, प्राप्ति र उद्देश्यका लागि उत्प्रेरित गर्नुपर्दछ । यो पनि असल शिक्षक हुनुको पहिचान हो ।

सरल र स्पष्ट विषयवस्तु

बालबालिकाले जहिले पनि सजिलो गरी बुझ्न चाहन्छन् र त्यसरी बुझाउन सक्ने शिक्षकलाई मन पराउँछन् । प्रायः हामी एकैपटक धेरै विषय पढाउन खोज्छौँ, जुन एकदमै अनुचित हो । कति शिक्षकले सुरूमा नियमित नपढाउने र अन्तिमतिर कोर्स सिध्याउने नाउँमा एकै पिरियडमा २–३ वटा पाठ पढाउने पनि गर्दछन् । त्यस्तो अवस्थामा बालबालिकाले रमाइलो मान्दैनन् र बुझ्दा पनि बुझ्दैनन् । त्यस्तो शिक्षण ‘झारा टार्ने’ शिक्षणमात्रै हो र शिक्षणप्रतिको अनादर पनि हो ।

असल शिक्षकले जहिले पनि शिक्षण गर्दा विषयलाई सानासाना खण्डहरुमा विभक्त गरेर शिक्षण गर्दछन् । यदि कुनै विषय अलि बढी सैद्धान्तिक र जटिल प्रकृतिको छ भने त्यसलाई टुक्रा बनाएर, सानो र सङ्क्षिप्त उद्देश्य राखेर शिक्षण गरियो भने सिकाउन पनि सजिलो हुन्छ भने बालबालिकाले सिक्दा पनि सजिलो गरी सिक्न सक्छन् । त्यसैले, हरेक पाठ्यवस्तु सरल, स्पष्ट र बोधगम्य हुनु आवश्यक छ ।
शिक्षण जहिले पनि सरलबाट जटिलतिर हुनुपर्दछ, जटिलबाट सरलतिर होइन । बालबालिका आफैँमा सरल हुन्छन्, उनीहरुको मनोभावना पनि सरल हुन्छ । त्यसैले, उनीहरुको मनोविज्ञानजस्तै हामीले पनि सरल विषयवस्तु प्रस्तुत ग¥यौँ भने हाम्रो शिक्षण प्रभावकारी हुन्छ, बालबालिका पनि प्रसन्न हुन्छन् र हामी पनि असल शिक्षकको कोटिमा पर्न सफल हुन्छौँ ।

सर्वज्ञ होइन, सदाबहार विद्यार्थी

संसारमा कोही पनि सर्वज्ञ छैन । धेरै कुरा जानेका मानिस होलान्, तर सबै कुरा जानेका मानिस हुँदैनन् । त्यस्तै, हामी पनि धेरै कुरा जानेका शिक्षक बन्न सकौँला, तर सबै कुरा जानेका शिक्षक बन्न सक्दैनौँ । यदि तपाईं शिक्षक भएर पनि मैले अझै धेरै जान्न बाँकी छ भन्ने ठान्नुहुन्छ भने तपाईंले साँच्चै नै धेरै सिक्नुहुने छ र असल शिक्षक बन्नुहुने छ ।

असल शिक्षकहरुले जहिले पनि आफूलाई सिकारू ठान्दन् । त्यसो त, हाम्रो जीवन नै एक प्रकारको विद्यार्थीको जीवन हो । प्रत्येक पल जीवनले हामीलाई नयाँ–नयाँ कुरा सिकाइरहेको हुन्छ । शिक्षकले पनि आफूलाई सदाबहार विद्यार्थी हुँ भन्ने ठान्नुपर्दछ । यदि तपाईंले ‘ममा केही कमी छ, मैले धेरै जान्नुपर्ने छ, यतिमात्रैले विद्यार्थी खुसी हुँदैनन्, अरु पनि चाहिन्छ’ भन्ने ठान्नुभयो भने तपाईंले साँच्चै नै धेरै कुरा हासिल गर्नुहुने छ र तपाईंका विद्यार्थीले पनि धेरै कुरा पाउने छन् । सधैँ केही न केही सिकिरहने बानीले तपाईंका बालबालिकाले पनि केही न केही सिकिरहने छन् ।

हामी शिक्षकले पढ्नु, सिक्नु वा नयाँ कुरा जान्नु भनेको हाम्रै बालबालिकाले जान्नु हो, सिक्नु हो । हाम्रो यही बानीका कारण हामी उत्कृष्ट शिक्षक अथवा असल शिक्षक बन्न बल पु¥याउँछ । त्यसैले, आफूलाई सर्वज्ञभन्दा धेरै सदाबहार विद्यार्थी ठानेर तदनुरुप नयाँ–नयाँ खोज, अनुसन्धान र अध्ययनमा लाग्ने शिक्षकहरुले नै प्रभावकारी शिक्षण गर्न सक्छन् । बालबालिका पनि सधैँ नयाँ–नयाँ कुरा सिक्न पाउँदा मख्ख हुन्छन्, शिक्षक सम्मानित नहुने त झन् कुरै भएन ।

Previous
Next Post »