किन मान्छेले अरुको नराम्रो मात्र देख्छ ?
अरुलाई होच्याएर आफैलाई सान्तवाना !

‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने ?’ नेपाली समाजमा प्रचलित भनाई हो यो ।
ख्याल गर्नुहोस् त, जब हामी एकअर्कासँग भेट्छौ । साथीभाई बस्छौ । तब तेस्रो पक्षको बारेमा टिप्पणी गर्न थाल्छौ । ‘फलानो यस्तो, फलानो उस्तो’ भन्दै । हामी उक्त व्यक्तिको नराम्रो कुरा मात्र खेलाइरहेका हुन्छौ, खोतलीरहेका हुन्छौ । अनावश्यक र मनगढन्ते टिकाटिप्पणी गरिरहेका हुन्छौ ।
जबकी हामी यसरी जमघट भइरहँदा कहिल्यै तेस्रो व्यक्तिको गुणगान गाउँछौ ? तोस्रो सकारात्मक र राम्रा कुराहरुबारे चर्चा गर्छौ ?
यो दुर्लभ वा अपवाद हुनसक्छ । किनभने अक्सर हामी अरुको निन्दा गरेर आफु रमाइरहेका हुन्छौ । अरुको बारेमा नराम्रो कुरा गरेर, अरुको बारेमा नराम्रो चर्चा गरेर हामी आनन्द लिइरहेका हुन्छौ । हाम्रो प्रवृत्ति के हुन्छ भने, अरुको गल्ती कमजोरी सजिलै पहिल्याउने । अरुले के गल्ती गर्छ, अरुको कमजोरी के छ ? हामी फटाफट भन्न सक्छौ । खुट्याउन सक्छौ ।
आफ्नो गल्ती-कमजोरीमा किन हाम्रो मुख टालिन्छ ?
तर कसैलाई सोध्नुहोस्, ‘तिम्रो गल्ती कमजोरी के छन् ?’
संभवत त उनको मुख टालिनेछ । उनको वाक्य फुट्ने छैन । चुपचाप बस्नेछ । किनभने अरुको गल्ती/कमजोरी खोतल्नेहरुले आफैतिर भने कहिल्यै फर्केर हेरेका हुँदैनन् । आफ्नो गल्ती कहिल्यै देख्दैनन् । कमजोरी देख्दैनन् । त्रुटी देख्दैनन् । अरुको चियोचर्चा गर्दागर्दै आत्ममूल्यांकन गर्न भुल्छन् ।
हामी अरुको नराम्रो कुरा कति सजिलै पहिल्याउँछौ ? यदि कुनै व्यक्तिको नाम लिएर हामीलाई ‘फलानोको बानी कस्तो छ ? फलानो कस्तो मान्छे हो ?’ भनेर सोधियो भने हामी फटाफट जवाफ दिन थाल्छौ । कनीकुथी उनको गल्ती र कमजोरी औल्याउन थाल्छौ । प्रश्नकर्ताले उनको नकारात्मक कुरा मात्र सोधेका हुँदैनन् । तर, हामी उनको सकारात्मक कुरा भन्दै भन्दैनौ ।
अरुको क्षमता, सफलतामा हामी किन दृष्टिविहिन ?
हरेक व्यक्ति सर्वगुणी हुँदैनन् । गल्ती सबैले गर्छन् । कमजोरी सबैमा हुन्छ । अवगुण सबैसँग हुन्छ । तर, साथसाथै हरेक व्यत्तिका केही न केही राम्रा पक्ष हुन्छ । गुण हुन्छ । क्षमता हुन्छ । हामी ति क्षमता, गुण कहिल्यै अरुलाई सुनाउँदैनौ ।
किन ?
किनभने हामीमा कुष्ठा छ । हामीमा इष्र्या छ । हामीमा दम्भ छ । यहि कुण्ठा, इष्र्या, दम्भले हामीलाई यसरी थिचेको छ कि, माथि उठेर खुला र निष्पक्ष दृष्टिले समाज एवं दुनियाँ नियाल्नै दिदैन । हाम्रो आँखामा पनि भ्रमको पर्दा लगाइदिएको छ । त्यही कारण हामी अरुको सकारात्मक कुरा, गुण, क्षमता कहिल्यै देख्दैनौ । देखेपनि खुला रुपमा चर्चा गर्दैनौ ।
वास्तवमा यो एक किसिमको मनोविकार हो । हामी यस्ता दुषित मनोविकारले यति ग्रस्त छौ कि, हाम्रो इन्दि्रयले पनि ठिकसँग काम गर्न सक्दैन । अरुले राम्रो भनेको, अरुले राम्रो गरेको, न हामीसँग सुन्ने कान छ, न हेर्ने आँखा छ । न त बुझ्ने मन नै छ । हामी अनुभूत पनि गर्दैनौ ।
हामी किन यतिधेरै नकारात्मक भयौ ?
हामी मानविय मूल्य र मान्यताबाट पन्छिदै गएका छौ । भौतिक सुख-सयलको भोग एवं तृष्णाले हामीलाई व्याकुल बनाएको छ । त्यही कारण हामी मानविय जीवन बाँच्न भुल्दैछौ । हामी आफैलाई अवगुण र विकारको भण्डार बनाउँदैछौ, त्यही कारण अरुलाई हामी खराब, नराम्रो, दुर्गुणी, कमजोर देखिरहेका छौ । यो हाम्रो आफ्नै दृष्टिदोष हो ।
अरुलाई होच्याएर आफुलाई सान्तवना
हामी अरुको कुरा किन काट्छौ ? किन अरुको अवगुणको मात्र चर्चा गर्छौ ?
हामीलाई किन अरुको प्रगति, उन्नती, सफलताले सुखी बनाउँदैन ?
किनभने हामी आफुभित्र दबिएको मनोवेगलाई घटाउन वा थमथमाउन अरुको नराम्रो कुरा गर्छौ । कुनै व्यक्तिको नराम्रो कुरा वा दुर्गुण बताएर हामी आफुले आफैलाई सान्तवाना दिइरहेका हुन्छौ । थमथमाइरहेका हुन्छौ । अर्थात अर्काको प्रगति, क्षमता, सफलताले पोलेर त्यसलाई सितल बनाउन हामी अरुको नराम्रो कुरा काटेर होच्याउँछौ । यसरी मौखिक रुपमा होच्याएर पनि हामी आनन्द लिइरहेका हुन्छौ । सन्तुष्ट लिइरहेका हुन्छौं ।

About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon