विद्यालय भर्सेस प्रकृतिः बालबालिकाले कहाँ के सिक्छन् ?

हामी चाहन्छौं, मेरा बालबच्चा ज्ञानी हुनुपर्छ । बौद्धिक हुनुपर्छ । चतुर हुनुपर्छ । सिपालु हुनुपर्छ । इमान्दार हुनुपर्छ । अनुशासित हुनुपर्छ ।
यहि सदिक्षा राखेर हामी उनीहरुलाई विद्यालय भर्ना गरिदिन्छौं । दिन नबिराई विद्यालय पठाउँछौ । बालबालिकालाई ज्ञानी, बौद्धिक, सिपालु बनाउने खुराक पाठ्यपुस्तकमा लेखिएको हुन्छ । त्यही खुराक शिक्षक/शिक्षिकाले बालबालिकालाई दिन्छन् । पाठ पढाउँछन् । लेख्ने अभ्यास गराउँछन् । पुस्तकमा लेखिएका कुरा उनीहरुले कति सिके ? यसका लागि परीक्षा लिइन्छ ।
हामी सोच्छौं, विद्यालय पढाएपछि मेरा बालबच्चा जान्नेबुझ्ने हुन्छन् । उनीहरु तिक्ष्ण बुद्धिका हुन्छन् । नयाँ कुरा जान्दछन् ।
तर, सोच्नुहोस् त तपाईंको बच्चाको कौतुहलता, जिज्ञासा पाठ्यपुस्तकले मात्र मेट्छ होला ? कक्षाकोठाको चार दिवारभित्र मात्र बच्चाका लागि पर्याप्त ज्ञानका स्रोत होला ?
हामी गल्ती गर्दैछौ ?
बालबच्चालाई ज्ञान आर्जन गर्नका लागि बिहान उठ्नसाथ विद्यालय पठाउँछौ । साँझ र्फकनसाथ होमवर्क र पठनपाठनमा व्यस्त बनाउँछौ । उनीहरुको हरेक दिन विद्यालयकै पर्खालभित्र व्यतीत हुन्छ । न उनीहरुसँग खेल्ने समय छ, न रमाइलो गर्ने, न घुमफिर गर्ने । जन्मिएर तङ्गि्रन नपाउँदै उनीहरुलाई विद्यालयमा भर्ना गरिदिन्छौ । बाल्यकाल, किशोरवय उनीहरुले विद्यालय गुजार्छन् । युवाअवस्था पुगेपछि करियर र गृहस्थीले एकैपटक छोप्छ ।
विद्यालयप्रति नकारात्मक हुनुपर्छ भन्ने होइन । पढाई आवश्यक छैन भन्ने पनि होइन । तर, अहिलेको विद्यालय शिक्षा, पठन विधी र अभिभावकको चेतले अबोध बालबालिका मानसिक बन्दी बन्दैछन् । उनीहरुको मस्तिष्क विद्यालय, पढाई, होमवर्क, शिक्षक भन्दा दायाँवायाँ हुन पाउँदैन ।
हामी अभिभावक र शिक्षकको सोचाई के छ भने, विद्यालय नै बालबालिकाको समग्र जान्नेबुझ्ने ठाउँ हो । पाठ्यपुस्तकबाट नै बालबालिकाले सबै कुरा सिक्छन् । जान्ने हुन्छन् । त्यही कारण त आफ्नो बच्चाले परीक्षामा उच्च अंक हासिल गर्नुलाई नै अभिभावकहरु सफताको मानक बनाउँछन् ।
तर, आफैलाई एकपटक प्रश्न गरौ त, के विद्यालय नै पर्याप्त छ बालबालिकाका लागि ? उनीहरुलाई किन विद्यालय पठाइरहेका छौ ? परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गराउनका लागि ? ज्ञानी बनाउनका लागि ? बुद्धिजीवि बनाउनका लागि ? शिक्षित बनाउनका लागि ? अनुशासित बनाउनका लागि ? मर्यादित बनाउनका लागि ?
पक्कैपनि विद्यालय भनेको बालबालिकाको समग्र ज्ञान र सीप आर्जनको थलो हो । उनीहरुको मनमा उठ्ने जिज्ञासा, कौतहुलता मेट्ने ठाउँ हो । नयाँ अभ्यास र अध्ययन गर्ने प्रयोगशाला हो । अनुशासन र मर्यादा सिक्ने घर हो ।
तर, यावत् ज्ञान, चेतना, शिक्षा र अभ्यासका लागि विद्यालय मात्र पर्याप्त छैन । पाठ्यपुस्तकमा मात्र ति सबै कुरा उनीहरुले पाउँदैनन्, जो उनीहरुले जान्नु र बुझ्नुपर्ने हुन्छ । कापी र पेन्सिलले मात्र ति सबै अभ्यास गर्न सक्दैनन्, जो उनीहरुको लागि जीवनोपयोगी हुन्छ ।
प्रकृतिको ढोका खोलौं
बालबालिकालाई विद्यालय र पुस्तकसँग मात्र संगत गराउने होइन, प्रकृतिसँग पनि एकाकार गराउनुपर्छ । उनीहरुले पुस्तकबाट जति कुरा सिक्छन्, उतिनै कुरा एउटा फलको बोटबाट सिक्छन् । विद्यालय जसरी उनको ज्ञान आर्जन गर्ने थलो हो, त्यो भन्दा ठूलो र खुला थलो हो बनजंगल, बगैंचा, खेतीबाली, जीवजन्तु, वनस्पती, किरा-फट्यांग्रा ।
बच्चाको मानसिक विकास हुन नपाउँदै, उनको शरीरका अंगहरु राम्ररी तङ्गि्रन नपाउँदै हामी उनिहरुलाई विद्यालयभित्र बन्द गरिदिन्छौ । पाठ्यपुस्तकमा एकोहोरो बनाइदिन्छौ । यही कारण उनीहरु प्रकृति, परिवार, समाज र वातावरणबाट विमुख हुन्छन् ।
दिनभर घाम लाग्यो कि हावा चल्यो ? सुन्तला फल्ने सिजन हो कि, धान पाक्ने ? अहिलेका बालबालिकालाई थाहा हुँदैन । किनभने उनीहरु विद्यालयभित्र बन्दी भएका छन् । जबकी विद्यालय र पुस्तकलाई सीमित गरेर उनीहरुलाई घर परिवार, पर्यावरण, गाइबस्तु, बगैंचा, खेतीबाली पनि अवलोकन गराउने हो भने त्यसबाट उनीहरुले धेरै कौतुहलता एवं उत्सुकता मेट्न पाउँछन् । ज्ञान, सीप र दक्षता आर्जन गर्छन् । यसरी आर्जन गरेका ज्ञान नै जीवनोपयोगी र प्रभावकारी पनि हुन्छ ।
प्रकृतिमा के छ ?
हामीले जान्नुपर्ने, बुझ्नुपर्ने, सिक्नुपर्ने सबैकुरा प्रकृतिमा छ । जब हामी प्रकृतिसँग एकाकार हुँदैनौ, जीवनलाई सही अर्थमा पनि बुझ्न सक्दैनौ । अहिलेका बालबच्चाहरुलाई अभिभावकले यहि कारण अन्याय गरिरहेका छन् कि, बालबच्चा प्रकृतिबाट विमुख छन् । उनीहरुले प्रकृतिको काखमा उन्मुक्त रमाउन पाएकै छैनन् ।
प्रकृति एक गुरु हुन्, खुला ज्ञान भण्डार पनि ।
बालबालिकालाई बनजंगलमा पुर्याउनुहोस्, बगैंचामा रमाउन दिनुहोस् । गाईबस्तुसँग संगत गर्न दिनुहोस् । खेतीबालीको काममा प्रेरित गर्नुहोस् । यावत् अनुभव र अभ्यासबाट उनीहरुले जीवनोपयोगी कुरा आर्जन गर्छन् ।
पुस्तकका पानामा मात्र स्याउ देखेका बच्चालाई स्याउकै बोटमा लगेर देखाउनुको भिन्नता कति हुन्छ ? कर्म गर्नुपर्छ भनेर पाठ घोकेका बच्चालाई खेतीबालीमा श्रम गर्न लगाउँदाको भिन्नता कति हुन्छ ? खुसी र उत्साहित हुनुपर्छ भनेर उपदेश दिइएका बच्चालाई रंगबिरंगी फूल एवं पुतलीहरुसँग स्वच्छन्द खेल्न दिनुको भिन्नता कति हुन्छ ?
अभिभावकले बुझ्नैपर्ने कुरा हो ।
तपाईं आफ्नो बच्चालाई परीक्षामा उत्कृष्ट भएको वा उच्च अंक हासिल गरेको हेर्न चाहनुहुन्छ भने विद्यालय मात्र पठाउनुहोस् । पुस्तक र होमवर्कमा केन्दि्रत गराउनुहोस् । तर, बच्चालाई जीवन र जगतको भाषा सुनाउन चाहनुहुन्छ, व्यवहारिक ज्ञान र सीप प्राप्त गरेको हेर्न चाहनुहुन्छ भने प्रकृतिसँग पनि खेल्न छुट दिनुहोस् ।

About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon